काठमाडौं । मोदी इनर्जी लिमिटेडले वैशाख १९ गतेदेखि वैशाख २४ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ ।
धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा मोदी इनर्जीको आईपीओ बाँडफाँट भएको हो । आईपीओ बाँडफाँट कार्यक्रम बिहान साढे १० बजे राखिएको थियो ।
नेपाल धितोपत्र बोर्डले मोदी इनर्जीलाई १०० रुपैयाँ अंकित दरका कुल ७२ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला गर्न अनुमति दिएको थियो । कम्पनीले कुल कित्तामध्ये २९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गरिसकेको थियो ।
कम्पनीले ३ लाख २२ हजार २८० कित्ता सेयर सामूहिक लगानी कोष र १ लाख २८ हजार ९१० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरेको छ । स्थानीयलाई बाँडफाँडपछि बाँकी रहन गएको २० लाख ९५ हजार ६१० कित्ता र सर्वसाधारणका लागि बाँकी रहेको ३४ लाख ६३ हजार ८१० कित्ता गरी कुल ५५ लाख ५९ हजार ४२० कित्ता सेयर बिक्री खुला गरिएको थियो ।
यो आईपीओमा कुल १२ लाख ३६ हजार २६९ आवेदकबाट १ करोड ३५ लाख ४ हजार ३० कित्ता सेयर माग भएको थियो । जसमा १२ लाख २९ हजार ७४१ आवेदकबाट परेको १ करोड ३४ लाख १ हजार ८० कित्ता सदर भएको छ भने ६ हजार ५२८ आवेदकबाट परेको १ लाख २ हजार ९५० कित्ता बदर भएको छ ।
मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ । जसमा सदर आवेदनमध्ये भाग्यमानी ५ लाख ६१ हजार २२६ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । यो हिसाबले सदर आवेदकमध्ये ६ लाख ६८ हजार ५१५ आवेदकको हात खाली भएको छ ।




















प्रतिक्रिया