Logo

राजनीति

सांसद विकास कोष खारेजका लागि रास्वपाद्वारा संकल्प प्रस्ताव दर्ता



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद विकास कोष खारेजका लागि संघीय संसद् सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराएको छ । रास्वपाको बिहीबार बसेको बैठकको निर्णयअनुसार प्रस्ताव दर्ता गराएको हो ।

प्रस्तावमा विगतमै विवादित बनिसकेको कार्यक्रम सांसद विकास कोष खारेज गर्न माग गरिएको छ । “सरकारले असहज आर्थिक परिस्थितिमा यस्तो विवादित कार्यक्रम ब्युँताएर नेपाली जनतामा आर्थिक भार थप्ने काम गरेको मात्र नभएर प्रस्तुत बजेटको विश्वसनीयतामाथि नै प्रश्न चिह्न खडा गरेको छ,” प्रस्तावमा भनिएको छ ।

त्यसअगाडि भनिएको छ, “आर्थिक वर्ष २०७७/७८ को बजेट निर्माण भइरहँदा नेपाली कांग्रेस प्रतिपक्षी दल थियो र कुनै हालतमा पनि यो कार्यक्रम खारेज गरिनुपर्ने मागसमेत गरेको थियो । साथै, उक्त कार्यक्रमको बजेट कोरोनाभाइरस सङ्क्रमण रोकथाममा लगानी गर्नुपर्ने भनी सो पार्टीको केन्द्रीय समितिले निर्णयसमेत गरेको जगजाहेर छ । अहिले कांग्रेसकै अर्थमन्त्री भएको र मुलुक आर्थिक मन्दीबाट गुज्रिरहेको अवस्थामा आफैँले विरोध गरेको कार्यक्रम ब्युँताउन लागिपरेको पनि देखियो । विसं २०५१ सालदेखि २ लाख ५० हजार रुपैयाँबाट सुरू भएको यस कार्यक्रम कुनै सरकारले हटाउने त कुनैले समावेश गर्ने गरिँदै आएको देखिन्छ ।”

रास्वपाले कोष खारेज गरेर आवश्यक विकास निर्माणका कार्यका बजेट परिचालित गर्नुपर्ने बताएको छ । तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले खारेज गरेको कार्यक्रम वर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले ब्युँताएका छन् । यसपछि यसको आलोचना भइरहेको छ ।

  • याे पनि…

तीन दशकअघि सुरु भएको ‘सांसद विकास कोष’ किन भइरहन्छ आलोचित ?

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहीबार १९:३९   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।