Logo

राजनीति

गेटालाई विश्वविद्यालय बनाउन माग गर्दै आन्दोलन सुरु



काठमाडौं । कैलालीमा मेडिकल कलेज सञ्चालन गर्ने भन्दै सरकारले अर्बै रकम खर्च गरेको छ । रु ५ अर्ब लागतमा ६०० शैयाको अस्पताल र मेडिकल कलेजका लागि आवश्यक २८ वटा आधुनिक भवन कैलालीमा निर्माण भएका छन् ।

गेटा मेडिकल कलेज संचालनको मोडलबारे धेरै छलफल भए पनि अनिणिर्त छ । त्रिभुवन विश्वविद्यालय वा काठमाडौं विश्वविद्यालयको सम्बन्धनमा वा बीपी कोइराला, पाटन, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्ता छुट्टै, स्वास्थ्य मन्त्रालय मातहत प्रतिष्ठान वा सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत वा सुदूरपश्चिम चिकित्सा विश्वविद्यालय वा सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत मेडिकल कलेज भन्ने मोडालिटीमा सरकार आफैँ अन्योलमा छ । तर एमाले निकट अनेरास्ववियुका विद्यार्थीहरुले माइतीघरमा गेटा मेडिकल कलेजलाई शहीद दशरथचन्द विश्वविद्यालय बनाएर सञ्चालन गर्नुपर्ने माग गर्दै आन्दोलन सुरु गरेका छन् ।

सरकारले गेटा र डडेल्धुरा मेडिकल कलेज सुदूरपश्चिम विश्वविद्यालयको सम्बन्धनमा सञ्चालन गर्ने सरकारको अघिल्लो वाषिर्क नीति तथा कार्यक्रममा उल्लेख थियो । स्थानीय सरोकारवाला, बुद्धिजीवी र जनप्रतिनिधिहरु भने उक्त गेटा मेडिकल कलेजलाई शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनुपर्ने बताउँछन् ।

कञ्चनपुरका पूर्व सांसद समेत रहेका दिपक प्रकाश भट्ट भन्छन, ‘विगत २५ वर्षदेखि सुदूरपश्चिममा मेडिकल कलेज स्थापना हुनुपर्छ भन्ने मागहरु भइरह्यो । तर देशभर ७ वटा चिकित्सा विज्ञान प्रतिष्ठान र २३ वटा मेडिकल कलेजहरु स्थापना भइरहँदा सुदूरपश्चिममा एउटा पनि हुन सकेन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ५ पटक त्यहाँबाट प्रतिनिधित्व गर्नुभयो । तर सुदूरपश्चिम क्षेत्रको स्वस्थ्यको पूर्वाधार र जनशत्तिः निर्माणमा काम अगाडि बढेको देखिँन मैले । अरु पार्टीका नेताहरु पनि सरकारमा जाँदा अरु मन्त्रालयमा काम गर्ने होडबाजी भयो तर शिक्षा र स्वास्थ्यमा भएन । त्यसकारण स्वास्थ्य क्षेत्रमा मेडिकल कलेज र स्वास्थ्य प्रतिष्ठान बनाउने एउटा होडबाजी पनि भयो । यो भन्दा अझ ब्रोड विषय स्वास्थ्य क्षेत्रका विभिन्न विद्या समेटेर होमोपेथी, कम्युनिटी हेल्थ, नेचोरोपेथी, पब्लिक हेल्थ र मेडिकल साइन्सलगायत सबै विषय पढाइ हुने गरी स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना हुनुपर्छ भनेर मैले आवाज उठाइरहेको हो र अहिले पनि उठाइरहेका छौं ।’

उनले सरकारले गेटालाई स्वास्थ्य प्रतिष्ठान मात्रै बनाएर राख्न नहुने बताए । उनले थप भने, ‘गएको माघ २९ गते सुदूरपश्चिम प्रदेशका सांसद, विज्ञ तथा स्वास्थ्य क्षेत्रका ज्ञातासँग अन्तक्रिया गर्नुभयो ।मुख्य सचिव, स्वास्थ्य सचिव र शिक्षा सचिव सहितको बसाईमा कुराकानी भएपछि प्रतिष्ठान होइन गेटालाई विश्वविद्यालय मोडेलमा लैजानुपर्छ भनेर छलफल टुंगियो । प्रधानमन्त्री विश्वविद्यालय बनाउन मञ्जुर हुनुभयो । अहिले फेरि विश्वविद्यालय बनाउने कुराबाट किन प्रतिष्ठान बनाउने निर्णय भयो ? यसैको सोधिखोजी गर्नका लागि हामीले आन्दोलन सुरु गरेका छौं ।’ तर संसदमा अहिले नयाँ विश्वविद्यालय खोल्न नहुने बहस हुने गरेको छ । सरकारले आर्थिक क्षमता नभएका कारण विश्वविद्यालयहरु खोल्न नहुने केही सांसदहरुको तर्क छ । भट्टले भने प्रतिष्ठानले सीमित मात्रै काम गर्ने र विश्वविद्यालयले बृहत काम गर्ने भएका कारण विश्वविद्यालय नै खोल्नुपर्ने बताए । । तर राजनीतिमा गेटाको विषय उठाइरहने र राजनीतिक मुद्दा बनाइरहेका कारण पनि यो विषय सल्टिएको छैन । गत २६ असारमा गेटामा गएको प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको निरीक्षण टोलीले चिकित्सा विश्वविद्यालय संचालन गर्न सकिने गरी गेटामा संरचना निर्माण भएको ठहर गरेको थियो ।

‘नेपालमा भौगोलिक तथा विषयगत विश्वविद्यालयहरु स्थापना र सञ्चालनको क्रम चलिरहेको सन्दर्भमा विकासको क्षेत्रीय सन्तुलन तथा स्थानीय जनसमुदायको भावनालाई समेत कदर गर्दै गेटालाई स्वास्थ्य शिक्षाको विषयगत विशिष्टीकरण हुने गरी चिकित्सा विश्वविद्यालयका रुपमा स्थापना र संचालन गर्न सकिने आधार देखिन्छ,’ समितिको प्रतिवेदनमा भनिएको छ ।

गेटालाई विश्वविद्यालय बनाउन माग गर्दै डा् गोविन्द केसीले लामै आन्दोलन गरेका थिए । उनले धेरै अनसनसमेत बसिसकेका छन् । चिकित्सा शिक्षा सुधार गर्न र सञ्चालन गर्न डा. केसीसँग सरकारले थुप्रै सम्झौता गरिसेको छ । उनलको अनसन तोडाउने क्रममा १० बुँदे सहमति गरेको सरकारले भने शहीद दशरथ चन्द स्वास्थ्य शिक्षा प्रतिष्ठान विधेयक तयार गरी संघीय संसदमा पेश गर्ने र चिकित्सा शिक्षा ऐन २०७५ मा निर्धारित समयसीमा (१० फागुन २०८०) भित्रै गेटामा चिकित्सा शिक्षा कार्यक्रम प्रारम्भ गर्ने बचन दिएको छ ।

तस्बिरहरु: खकेन्द्र बहादुर बुढा

 

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार १६:२५   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।