Logo

अर्थ

पशुपतिनाथ मन्दिरभित्रकाे सुनको जलहरीकाे तौल अनुसन्धान नसकिएसम्म गाेप्य राखिने



काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको गर्भगृहबाट निकालेर लिएको सुनको नाप तौल अनुसन्धान नसकिएसम्म गोप्य राख्ने जनाएको छ ।

अनुसन्धान टुंगोमा नपुर्याउँदासम्म अहिले लिइएको सुनको तौल तथा गुणस्तरको विवरण अख्तियारले गोप्य राख्ने बताएको हो । अख्तियारका एक कर्मचारीले तौल तथा गुणस्तरको विषय अहिले सार्वजनिक गर्दा अनुसन्धान प्रभावित हुनसक्ने भन्दै विवरणहरु गोप्य राख्ने जनाएको हो ।
अनियमितताको उजुरी परेको दुई वर्षपछि अख्तियार दुरुपयोग अनुसन्धान अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा रहेको सुनको जलहरी हिजो निकालेर गुणस्तर र तौल परीक्षण गरेको हो ।

अख्तियारका प्रवक्ता भोला दाहालले अनुसन्धान नसकिएसम्म यो विषय बाहिर ल्याउन नमिल्ने बताएका हुन । अनुसन्धान कहिले सकिन्छ भन्ने पनि एकीन छैन । जलहरी जाँच्न आइतबार दिउँसो १ बजेबाट पशुपतिनाथ मन्दिर परिसर प्रवेशमा सर्बसाधारण व्यक्तिलाई रोक लगाइएको थियो भने भित्रका भक्तजनहरुलाई बाहिर निकालिएको थियो । त्यसपछि जलहरी झिक्ने काम भएको थियो । परीक्षणका बेला सेना, प्रहरी र सशस्त्रले पहरा दिएका थिए । सुनको जलहरी हिजो बेलुकै निकालेर नाप, तौल तथा गुणस्तरको अनुसन्धान भएको थियो ।

अख्तियारको टोली दिउँसो २ बजेतिर मन्दिर पुगेको थियो । गर्भगृहबाट जलहरी निकाल्ने कार्य भने साँझ पौने ६ बजे मात्र सुरु भएको थियो । जलहरी निकाल्ने क्रममा र त्यसको परिमाण, गुणस्तर एवं त्यसमा प्रयोग गरिएको धातुको मात्रा नापजाँच गर्दा गुणस्तर तथा नापतौल विभाग, पुरातत्त्व विभाग, खानी तथा भूगर्भ विभाग, नेपाल सुनचाँदी व्यवसायी महासंघ, पशुपति क्षेत्र विकास कोष र चारवटै सुरक्षा निकाय तथा स्थानीय जनप्रतिनिधिलाई रोहबरमा राखिएको थियो ।

राष्ट्र बैंकबाट ८० करोड ११ हजार रुपैयाँमा सुन खरिद गरेर अपारदर्शी रूपमा जलहरी निर्माण गरेको तथा तोकिएको परिमाणअनुसार काम नगरेको भन्दै २ वर्षअघि अख्तियारमा उजुरी परेको थियो । उजुरीमाथि प्रारम्भिक छानबिन गरेपछि अख्तियारले अनुसन्धान अधिकृत नै तोकेर विस्तृत अनुसन्धान गरिरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा जलहरी निर्माण प्रक्रियामा सामेल कोषका पदाधिकारी, सदस्य, कालिगड, भट्ट/पुजारी, सुरक्षाकर्मी लगायतसँग अख्तियारले बयान लिइसकेको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७७ माघ १२ मा पत्नी राधिका शाक्य र सहयोगीका साथ पशुपतिनाथ मन्दिर पुगेर ‘संकल्प पूजा’ गर्नुका साथै करिब १ अर्ब रुपैयाँ लागतमा जलहरी राखिने घोषणा गरेका थिए । चाँदीको जलहरी चुहिने भएको भन्दै सुनको बनाउन पहिलेदेखि नै कोषका पदाधिकारीले जोडबल गरेका थिए । सुनको जलहरी राख्न ओलीले सरकारका तर्फबाट ३० करोड दिने घोषणा गरेका थिए । कोषले सरकारबाट प्राप्त हुने रकममा ५० करोड ११ हजार थपेर करिब ८० करोड लागतमा १ सय ८ केजीको जलहरी राख्ने निर्णय गरेको थियो । त्यसपछि राष्ट्र बैंकबाट १ सय ३ केजी ७ सय ७३ ग्राम सुन खरिद गरिएको थियो ।

कोषका तत्कालीन सदस्य सचिव प्रदीप ढकालले जलहरी निर्माणका लागि कोषाध्यक्ष मिलन थापाको संयोजकत्वमा समिति गठन गरेका थिए ।  एक महिनाभित्रै जलहरी निर्माण गरेर फागुन १२ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत सुनकाे जलहरी पशुपति मन्दिरमा स्थापना गरिएकाे थियाे ।  १ सय ८ केजीको जलहरी राख्ने भनिएकामा करिब ११ केजी कम उल्लेख गरिएपछि अरु सुन कता गयाे भनेर अख्तियरमा उजुरी परेकाे हाे।

महालेखा परीक्षकको कार्यालयलाई कोषले उपलब्ध गराएको विवरणमा भने खरिद भएको सुनसहित २ केजी ८ सय ९० ग्राम तामा, १ केजी २ सय ४९ ग्राम चाँदी, १२.७५ ग्राम जिंकसहित १ सय ७ केजी ९ सय २४.७५ ग्राम गरेर १ सय ७ केजी ९ सय २४.७५ ग्रामको जलहरी बनाइएको उल्लेख छ । कोषले महालेखालाई मुचुल्काबाहेक १० केजी ९ सय ७६ ग्रामको सुनको रिङ बनाएर जलहरीमा राखेको विवरण दिएको थियो ।

जलहरी निर्माण हुँदाका सदस्य सचिव ढकाल चारवर्षे कार्यकाल पूरा गरेर ०७८ साउन ३१ मा बाहिरिए । भदौ १२ मा कोषाध्यक्ष थापाको पनि कार्यकाल सकियो । त्यसअघि असार २९ मै ओली प्रधानमन्त्रीबाट बाहिरिए । कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्यो । देउवाले नै करिब दुई महिना संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको कार्यभार सम्हालेका थिए । त्यही अवधिमा कोषाध्यक्षबाट अवकाश पाएको ६ दिनपछि नै भदौ १८ मा थापा सदस्य सचिव नियुक्त भए । ओलीका पालामा कोषाध्यक्ष नियुक्त थापा देउवाका पालामा एक तह बढुवा भएका हुन् । जलहरी प्रकरणको अनुसन्धानका लागि अख्तियारले थापालाई सदस्य सचिव नियुक्त हुनु अघिल्लो दिन भदौ १७ मा बयानमा बोलाएको थियो ।

सदस्य सचिवमा नियुिक्त पाएको तीन दिनपछि थापाले अख्तियार गएर करिब ५ घण्टा बयान दिएका दिए । थापाले बयान दिएको २ वर्ष पुग्नै लागेको छ । अख्तियारले यस प्रक्रियामा संलग्न सबैसँग बयान लिइसकेको छ । पशुपतिका मूल पुजारी गणेश भट्ट र सहायक पुजारी राम भट्टले पनि बयान दिइसकेका छन् । तर अख्तियारले अनुसन्धान अझै टुंग्याएको छैन । जलहरी राख्नुअघिका मुचुल्कासहितका सबै कागजात अख्तियारको नियन्त्रणमा छ । महालेखाले ५९ औं प्रतिवेदनमा पनि जलहरी बनाउँदा सुनको परिमाण कति भनेर यकिन हुन नसकेको भन्दै प्रश्न उठाएको छ ।

राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले जलहरीकै विषयमा बुझ्न सदस्य सचिव थापालाई जेठ ३० मा डाकेको थियो । थापाले जलहरी निर्माण गर्दा आफूले हिनामिना नगरेको जिकिर दोहोर्‍याएका थिए । त्यसअघि बजेटमाथिको छलफलमा माओवादी सांसद लेखनाथ दाहालले जलहरीमा पित्तल राखिएको बताएपछि एमालेले जेठ १२ मा प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको थियो । विरोधपछि सभामुख देवराज घिमिरेले जलहरीबारे सांसद दाहालले दिएको अभिव्यक्ति अभिलेखबाट हटाएका थिए । त्यसपछि जलहरीको मुद्दा टुंग्याउन अख्तियारले तदारुकता देखाएको हो ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार ०७:३९   :  बजे

180
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।