वीरगञ्ज । पर्साको सदरमुकाम वीरगञ्जलाई थप सुरक्षित बनाउन अत्याधुनिक विद्युतीय सुरक्षा प्रणाली जडान गरिएको छ । अतिसंवेदनशील जिल्लाको सूचीमा रहेको सीमावर्ती वीरजञ्जमा हुने सवारी दुर्घटनादेखि विभिन्न अपराधमा संलग्न रहेका व्यक्तिको पहिचान गर्न ‘अटोमेटिक नम्बर प्लेट रिकोगनाइजेशन सिस्टम’ जडान गरिएको हो ।
वीरगञ्ज महानगरपालिकाको २७ लाख रुपैयाँको लागतमा जडान गरिएको यो प्रणालीको बुधबार महानगरपालिकाका प्रमुख राजेशमान सिंहले उद्घाटन गरे । उनले जडान गरिएको अत्याधुनिक प्रविधिले वीरगञ्जको ट्राफिक व्यवस्थापनसँगै अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
प्रमुख सिंहले वीरगञ्जवासीको जिउधनको सुरक्षाका लागि वीरगञ्जका केही स्थानमा हाल जडान गरिएको यो प्रणालीका क्यामरालाई चाँडै नगरभरी विस्तार गर्दै लैजाने पनि बताए ।
वीरगञ्जको परवानीपुर, गण्डकलगायत नगरका विभन्नि चोकमा जडान गरिएको अत्याधुनिक क्यामेरा र यो प्रणालीले वीरगञ्ज सहरलाई थप सुरक्षित बनाउन मद्दत पुग्ने प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए ।
उक्त प्रणालीले उज्यालो अँध्यारोमा नै बाहनको नम्बर प्लेट, रङको पहिचान गर्नुका साथै खोजी सूचीमा रहेका व्यक्तिले मास्क वा अन्य जुनसुकै वस्तु लगाए पनि पहिचान गरी तत्कालै जानकारी दिनसक्ने छ ।





















प्रतिक्रिया