Logo

प्रमुख समाचार

ओलीलाई देवत्वकरण गर्ने अभियानमा एमाले



नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई देवत्वकरण गर्ने अभियान थालेको छ।

पार्टी एवं जनसंगठनद्वारा आयोजना हुने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष ओलीको फोटो नै अनिवार्य राख्नुपर्ने निर्णय एमालेले गरेको छ।

गत सोमबार (२९ साउन)मा बसेको एमाले सचिवालय बैठकले पार्टी एवं जनसंगठनका सार्वजनिक कार्यक्रममा तीन अग्रजका अतिरिक्त पार्टी अध्यक्ष ओलीबाहेक अन्य कोही कसैको पनि फोटो प्रयोग गर्न नपाउने निर्णय गरेको हो ।

एमालेले अध्यक्ष ओलीलाई देवत्वकरण गर्ने किसिमको निर्णय गरेको भन्दै सामाजिक सञ्जालका साथै सोही पार्टीका नेताहरूले समेत आलोचना गरिरहेका छन् । पार्टीका अग्रज नेता पुष्पलाल श्रेष्ठ, मदन भण्डारी, मनमोहन अधिकारीका अतिरिक्त, कार्ल माक्र्स, लेलिनका साथै विश्व कम्युनिस्ट आन्दोलनका अन्य नेताहरूको फोटो राख्ने र कार्यक्रम गर्ने प्रचलन थियो ।

एमालेका एक नेताले विगतको प्ररम्परा तोड्दै अध्यक्ष ओलीलाई देवत्वकरण गर्ने अभियानमा केही नेता लागेको दुःखेसो पोखेका छन् । ‘तीन अग्रज नेताबाहेक विश्व कम्युनिस्ट आन्दोलनका अन्य नेताका साथै कार्यक्रमसँग सम्बन्धित अन्य फोटो राखेर कार्यक्रम हुँदै आएको थियो,’ ती नेताले भने, ‘अब त ओलीबाहेक अन्यको फोटो राख्न नपाउने निर्णय गरेर एमालेले अध्यक्षलाई संस्थागत रूपमै देवत्वकरण गर्ने अभियान नै चलायो ।’

ओलीबाहेक अन्यको फोटो नराख्ने निर्णय सार्वजनिक भएपछि सामाजिक सञ्जालमा नवीनजंग कार्कीले लेखेका छन्, ‘पार्टी अध्यक्षबाहेक भनेको के हो ? अध्यक्ष कमरेड ओलीको मात्रै फोटो राख्ने तर जननेता कमरेड मदन भण्डारी, कमरेड पुष्पलाल श्रेष्ठ, कमरेड मनमोहन अधिकारी, कमरेड माक्र्स, कमरेड लेनिन, कमरेड माओत्सेतुङ आदिको नराख्ने भन्ने हो ? कम्युनिस्ट नेताहरू र झन्डा राख्नुपर्छ । पार्टी अध्यक्षको राख्न जरुरी छैन ।’

एमाले उपमहासचिव विष्णु रिमालका अनुसार पार्टी एवं जनसंगठनद्वारा आयोजना हुने सार्वजनिक कार्यक्रममा तीन अग्रह नेताका अतिरिक्त अध्यक्ष ओलीबाहेक अन्य कुनै नेताको फोटो राख्न नपाउने निर्णय बैठकले गरेको छ । सो निर्णय तल्लो तहका कमिटीद्वारा पालना गर्ने गराउने सम्बन्धमा पार्टीले छिट्टै नै परिपत्र गर्ने उनले जनाएका छन् ।

सार्वजनिक कार्यक्रममा फोटोको प्रयोग, आसनग्रहण र मञ्च व्यवस्थापनसम्बन्धी भएका निर्णय सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै उपमहासचिव रिजालले अब सार्वजनिक कार्यक्रममा अध्यक्ष ओलीको फोटोबाहेक अन्यको फोटो राख्न नपाउने जनाएका हुन्। यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार ०८:४९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।