Logo

प्रमुख समाचार

सभामुखलाई प्रधानमन्त्रीले भने- सहमतिका लागि विपक्षी दलको नेतासँग थप पहल गर्छु



काठमाडौं । प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले सदनको अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभामुख र प्रधानमन्त्रीबीचकाे छलफलमा सभामुखले सदन निरन्तर अवरोध हुनु राम्रो नभएको भन्दै पहल गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

प्राकृतिक विपत्तिलगायतका विषयमा सांसदहरूले बोल्न नपाएको गुनासो गरेको भन्दै घिमिरेले दलीय सहमतिविना सदन अघि बढ्न नसक्ने स्मरण गराए ।

‘सदन नचल्नु राम्रो भएन। माननीयहरूले बोल्न समय माग्नुभएको छ। प्राकृतिक विपत्ति लगायतका धेरै विषयमा माननीयहरूले बोल्न पाइनँ भन्नुहुन्छ। सहमतिबिना सदन अगाडि बढ्न सक्ने स्थिति छैन। आम जनताले पनि सदन अवरोधलाई राम्रो मानेका छैनन्,’ सभामुखको भनाइ उद्धृत गर्दै उनको सचिवालयले भन्यो, ‘कम्तीमा सदन खुलाउन सत्तापक्ष र प्रतिपक्षले गम्भीरतापूर्वक छलफल गरिदिनुहोस्। समितिको नेतृत्व चयन हुन सकेको छैन। संसदमा कानून निर्माण भएनन् भन्ने गुनासो छ।’

सभामुखको रूपमासहमतिका लागि जिम्मेवारीपूर्वक पहल गरेको तर, परिणाममा निस्किन नसकेको बारे पनि सभामुखले बताएको उनका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

जवाफमा प्रधानमन्त्री दाहालले संसद खुलाउन आफूले भूमिका खेल्ने बताएका छन् । उनले यस विषयमा एमाले नेतृत्वसँग कुरा गर्ने बताए ।

प्रधानमन्त्रीले भने, ‘म पनि सदन खुलाउन भूमिका खेल्छु । तपाईं पनि लाग्नुहोस् । छिट्टै सहमति गर्नैपर्छ । म प्रमुख विपक्षी दलको नेतासँग थप पहल गर्छु ।’

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिबाट ब्रेक सुभित्र सुन लुकाएर ल्याएको अवस्थामा बरामद भएपछि त्यसो प्रकरणको उच्चस्तरीय समिति बनाएर छानबिनको माग गरेको छ ।

साउन १० गतेदेखि संसद् अवरूद्ध गर्दै न्यायिक जाँचबुझ समितिको माग गरिरहेको छ । तर, सरकारले राज्यका निकायले जाँचबुझ गरिरहेकाले यसैलाई विश्वास गर्नुपर्ने अडान राख्दै आएको छ । सत्ता र प्रमुख प्रतिपक्ष अडानमा यथावत् रहँदा संसद् नियमित कार्यसूचीमा अघि बढ्न सकेको छैन ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार १०:३५   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।