काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्याम ज्ञवालीको सरुवा गरेको छ । नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्धा अनुसन्धानमा समन्वय गरेका श्याम ज्ञावालीलाई प्रहरी प्रधान कार्यालयको कार्यविभागमा सरुवा गरिएको हो ।
उनको स्थानमा प्रशासनका दीपक थापालाई ल्याइएको छ। प्रधानमन्त्रीले आफू अनुकुल मिलाएर सरुवा गरेका देखिएको छ । ज्ञवालीले नक्कली भूटानी शरणार्थी प्रकरणमा तदारूकता देखाएर अनुसन्धान अगाडी बढाइरहेका थिए भने दोस्रो चरणको अनुसन्धान सुरू गरेका थिए । यस प्रकरणका थप पीडितहरूको उजुरी लिएर अनुसन्धान गर्न थालेपछि उनको सरूवा गराउन राजनीतिक वृतबाटै चलखेल सुरू भएको आरोप छ ।
एआईजी ज्ञवालीको सरूवा गराउन प्रधानमन्त्री प्रचण्डलाई दबाब दिइएको बुझिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीसहितका एआईजीहरूको सरुवा गरेको हो।
त्यस्तै मानवस्रोतका सन्दीप भण्डारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ। टेकप्रसाद राईलाई मानवस्रोत विभागमा ल्याइएको छ। राईले आफूलाई छोटो समयमा विना कारण हटाउन खोजिएको भन्दै प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरलाई असन्तुष्टि जनाएपनि सरकारको तजविजीमा उनको गुनासो सुनवाइ भएन। त्यस्तै एआईजी मिरा चौधरीलाई प्रशासनमा सरुवा गरिएको छ।




















प्रतिक्रिया