Logo

टिप्पणी

कांग्रेस : सिद्धान्तमा लोकतन्त्र व्यवहारमा मनपरीतन्त्र



काठमाडाैं । नेपाली कांग्रेसको १४औं महाधिवेशन भएको दुई वर्ष पुग्न तीन महिना बाँकी छ ।

तर कांग्रेसले महाधिवेशन भएको ६ महिनाभित्र सम्पादन गर्नुपर्ने कार्य अझै पूरा गर्न सकेको छैन । महाधिवेशन भएको ६ महिनाभित्र पार्टीका सबै विभाग र निकायलाई पूर्णता दिनुपर्ने व्यवस्था विधानमा भए पनि अहिलेसम्म त्यस्तो हुन सकेको छैन ।

सभापति शेरबहादुर देउवाले शुक्रबार विधानको धारा ३७ को १ (ग) अनुसार १५ जना केन्द्रीय सदस्यलाई विभिन्न १५ विभागको प्रमुख तोकेका छन् । कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश समन्वय, पुष्पा भुसालले महिला, चिनकाजी श्रेष्ठले उद्योग तथा व्यापार, किरण यादवले तराई-मधेस समन्वय, योगेन्द्र चौधरीले थारु, गेहेन्द्र गिरीले ज्येष्ठ नागरिक समन्वय, आंगेलु शेर्पाले पर्यटन, रणबहादुर रावलले गैरसरकारी संस्था समन्वय र दिलमान पाख्रिनले आदिवासी जनजाति विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।

त्यस्तै प्रकाश रसाइली स्नेहीलाई वैदेशिक रोजगार समन्वय तथा आप्रवासन, रंगमती शाहीलाई पिछडिएको क्षेत्र, गुरु बराललाई आपूर्ति तथा उपभोक्ता, नानु बास्तोलालाई जिल्ला सम्पर्क समिति समन्वय, मदनकृष्ण श्रेष्ठलाई अपांगता भएका व्यक्ति र समुदाय समन्वय र सीता थपलिया (उर्मिला) लाई उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभाग प्रमुख तोकिएको छ ।

प्रमुख तोकिएका यी विभागले कहिले पूर्णता पाउँछन् र बाँकी विभागका प्रमुख कहिलेसम्म तोकिन्छन् भन्ने निश्चित छैन । पार्टीभित्रको गुटगत सन्तुलन मिलाएर विभाग गठन र तिनलाई पूर्णता दिने गृहकार्यमा सभापति देउवा जुटेको निकटहरूको दाबी छ ।

संस्थापन इतर पक्षले विभाग प्रमुखका लागि नाम दिन विलम्ब गरेकै कारण गठनमा ढिला भएको संस्थापन पक्षका नेताहरूको दाबी छ। गुटगत सन्तुलन मिलाउन विद्यमान विभागको संख्या थप गर्ने प्रस्ताव साउन पहिलो साता बसेको केन्द्रीय समिति बैठकमा पेस गरिएको थियो। सोहीअनुसार विभाग गठन गृहकार्यमा सभापति देउवासहितका पदाधिकारी जुटेका छन् ।

कांग्रेस विधानमा ४८ विभाग रहने व्यवस्था छ। केन्द्रीय समिति बैठकमा २२ वटा विभाग थप्न प्रस्ताव भएको थियो । प्रमुख तोकिएका समिति र विभाग पनि पूर्णता पाउन नसक्दा क्रियाशील हुन सकेका छैनन् । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आईतवार ०९:५०   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।