काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले मुलुकको विकासका लागि समाजवादी व्यवस्था आवश्यक रहेको बताएका छन् । समाजवादी सहकारी सङ्गठनको प्रथम स्थापना दिवसका अवसरमा आज पूर्वप्रधानमन्त्री खनालले सबै समस्याको समाधानका लागि समाजवाद निर्विकल्प भएकाले समाजवादकै बाटोमा जानुपर्नेमा जोड दिए ।
उनले सामाजिक न्याय तथा सुशासन कायम गर्न समाजवादी व्यवस्था कार्यान्वयनमा जोड दिँदै राज्यको मूलधारमा आउन नसकेका नागरिकलाई समावेशी, समानुपातिक प्रतिनिधित्वका आधारमा समेटेर अगाडि बढाउनुपर्ने बताए । उनले भ्रष्टाचार न्यूनीकरणका लागि सबै राजनीतिक दलको साझा दृष्टिकोणको आवश्यक रहेको बताए ।
नेता खनालले संविधान र गणतन्त्र रक्षाका लागि वामपन्थी शक्ति एकताबद्ध हुनुपर्ने विचार व्यक्त गरे । सामाजिक न्याय, समानतासहितको आत्मनिर्भर अर्थतन्त्रका लागि समाजवादी अर्थव्यवस्था महत्वपूर्ण हुने उनको भनाइ थियो ।
















प्रतिक्रिया