Logo

गण्डकी प्रदेश

‘स्वास्थ्य, शिक्षा र पूर्वाधारको क्षेत्रमा दातृ निकायको सहयोग आवश्यक’



गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वास्थ्य, शिक्षा र पूर्वाधारको क्षेत्रमा दातृ निकायको सहयोग आवश्यक भएको बताएका छन् । नेपालका लागि जापानी राजदूत किकुता युताकासँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा मुख्यमन्त्री पाण्डेले प्रदेशको स्रोतसाधनले मात्रै सबै काम गर्न सम्भव नभएको तथा भौगौलिक विकटताका कारण पनि पूर्वाधार निर्माण खर्चिलो भएको बताए ।

विभिन्न देश र दातृ निकायको सहकार्यमा प्रदेशभित्र सबै ठाउँमा विकासको गति सँगसँगै लैजानुपने उल्लेख गर्दै उनले नेपालमा जापान सरकारले गरेका सहयोगको स्मरण गरे । नेपाल र जापानको लामो समयदेखि मित्रवत सम्बन्ध रहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले २०७२ सालको भूकम्पपछिको पुनःनिर्माण, विद्यालय निर्माणलगायत काममा जापान सरकारले महत्वपूर्ण सहयोग गरेको बताए ।

जापान सरकार र मातहतका दातृसंस्थाले स्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै आएको भन्दै उहाँले गण्डकी प्रदेश सरकारको ‘हर्ट हस्पिटल’ बनाउने योजनामा सहकार्य आवश्यक रहेकामा जोड दिए । विपद्को सामना गर्दै अघि बढेको जापानबाट नेपालले विपद् पूर्वतयारी र त्यसपछिको पुनःनिर्माण सिक्न आवश्यक रहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले भूकम्प, बाढीपहिरो जस्ता विपद्को क्षेत्रमा सहकार्यको अपेक्षा रहेको धारणा राखे ।

त्यस अवसरमा राजदूत युताकाले जापान सरकार र यस अन्तर्गतका दातृनिकायले नेपालमा निरन्तर गर्दै आएको सहयोग आगामी दिनमा पनि जारी रहने बताए । उनले  गण्डकी प्रदेश सरकारसँग सहकार्य हुने मुख्यमन्त्री पाण्डेलाई विश्वास दिलाए । जापान सरकारले नेपालसँग दिगो सम्बन्ध राख्न चाहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलवार २१:१७   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।