काठमाडौं- एनआइसी एसिया बैंकका कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेको फेक ह्याट्सएप खाता खोली दुरुपयोग भएको पाइएको छ।
९८२७६३३४२५ मोबाइल नम्बरबाट फेक खाता खोली न्यौपानेको तस्बिर राखेर दुरुपयोग गरेको पाइएको हो। उनले आफ्नो फेक ह्वाट्सएप खाता खोलेको पाइएकाले सावधानी अपनाउन सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
‘रोशन कुमार नाम राखेर मेरो तस्बिर दुरुपयोग गरी ह्वाट्सएप बनाएर म्यासेज पठाएको र संवादसमेत गरेको पाइएकाले यस्तो क्रियाकलाप पूर्णरूपमा गलत रहेको जानकारी गराउँदै यसप्रति सजग रहन सम्बन्धित सबै सरोकारवाला, ग्राहक महानुभावहरू र सर्वसाधारणमा अनुरोध गर्दछु,’ उनले भनेका छन्।
उक्त नम्बरमा कल गर्दा एक महिलाले यस बारेमा आफूलाई थाहा नभएको र रोशन सरको नम्बर होइन भन्दै फोन आइरहेको बताएकी छन्।
रोशन सरको नम्बर होइन यो भनेर सोध्दा उनले भनिन्, ‘नाइँ रोशन सर चिन्दिन म। अघि पनि एक जना दाइले रोशन सर रोशन सर भन्नु भएको थियो। उहाँले ह्याक गरेर चलाएको थियो भन्नु भएको थियो। रोशन दाइले चलाएकी कले चलाए थाहा भएन।’ उनले आफूलाई ह्वाट्सएप चलाउन समेत नआउने बताएकी छन्। उनले आफ्ना श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा विदेश रहेको बताएकी छन्। उनले आफू नपढेको र राम्रोसँग मोबाइल चलाउनसमेत नआउने बताएकी छन्।
केही दिन पहिले राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको फेक ह्वाट्सएप खाता खोली दुरुपयोग भएको थियो।
गभर्नर अधिकारीको नाम र तस्बिर प्रयोग गरी उक्त खाता खोलेर विभिन्न व्यक्तिसँग संवादसमेत गरिएको राष्ट्रबैंकले सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो। उनको ९८१४४८६४४९ मोबाइल नम्बरबाट उक्त खाता खोलिएको बैंकले जनाएको थियो।




















प्रतिक्रिया