काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २६औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । साधारण सभामा बोल्दै अध्यक्ष हेम राज ढकालले नेपाली बिमा बजारमा छुट्टै पहिचान स्थापित गर्न इन्स्योरेन्सले गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको बताए ।
उनले देशको आर्थिक विकासमा बिमाको ठुलो योगदान रहेको भन्दै बिमाले आर्थिक तथा वित्तीय सुरक्षा प्रदान गर्दछ भन्ने चेतनाको विकास समाजका हरेक तह र तप्कामा गराउन सकिएमा नेपाली बिमा बजार अझै फराकिलो हुने बताए ।
सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट ढकालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
सभाले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षण समितिको सिफारिसबमोजिम लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव अनुमोदन गरेको छ ।
सभाले कम्पनी सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूहबाट हेम राज ढकाल, विशाल अग्रवाल, अम्बिका प्रसाद पौडेल, कृति टिवडेवाल र सर्वसाधारणस समूहबाट राजेन्द्र सिंह भण्डारी र अमित अग्रवाल निर्विरोध निर्वाचित भएका छन् ।
संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोहीअनुसार फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले पारित गरेको छ ।
सञ्चालक समितिको बैठकमा उपस्थित भएबापत सञ्चालकले पाउने बैठक भत्ता तथा सेवासुविधा पुनरावलोकन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ । सभाले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भएका खर्च अनुमोदन गरेको छ ।




















प्रतिक्रिया