काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पाउने औपचारिक सहमति भएको छ ।
बालुवाटारमा आइतबार बिहान बसेको सत्ता गठबन्धन बैठकले सुदूरपश्चिम मुख्यमन्त्री नाउपालाई दिने सहमति भएको नाउपाका केन्द्रीय सदस्य रमेश विश्वकर्माले बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठबीच बालुवाटारमा भएको छलफलबाट उक्त सहमति भएको हो ।
नाउपा प्रतिनिधिसभा सदस्य अरुण चौधरीकाअनुसार बाँकी रहेको कार्यकालमा पहिलो एक वर्ष नाउपा र बाँकी समय समाजवादीले नेतृत्व गर्ने सहमति बनेको हो । सुदूरपश्चिम सरकार निर्माणको लागि प्रदेश प्रमुख नजिर मियाँले दिएको समयको आज अन्तिम दिन हो । आज नै दाबी पेश गर्ने कैलाश चौधरीले जानकारी दिए ।
अध्यक्ष रञ्जिता श्रेष्ठले कैलाश चौधरीलाई दलको नेता तोक्दै उनैलाई मुख्यमन्त्रीमा अघि सारेकी छिन् । संरक्षक रेशम चौधरी पक्षले भने लक्ष्मणकिशोर चौधरीलाई अघि सारेका छन् ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार बनाउन २७ सांसदको समर्थन आवश्यक पर्छ । नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपा १ र १ जना स्वतन्त्र सांसद छन् । अब सरकार निर्माण गर्न २६ जना भए पुग्छ ।





















प्रतिक्रिया