काठमाडौं । आफूलाई सामाजिक अभियान्ता बताउने पुण्य गौतमले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसँग भेटघाट गरेका छन् ।
गृहमन्त्री निवासमा बुधबार राति रास्वपा केन्द्रीय सदस्य ज्वाला संग्रौलाको सहयोगमा गृहमन्त्रीलाई भेटेको गौतमले सामाजिक संजालमार्फत बताएका छन् । उनले भेटघाटमा समसामयिक राजनीतिक विषयवस्तुका साथै २०८४ सालको निर्वाचनका बारेमा पनि कुरा गरेको बताएका छन् ।
भेटमा पुण्यले आफू ८४ सालको चुनाव लड्ने योजनामा रहेको रविलाई सुनाएका थिए । उनले काठमाडौं ४ मा गगन थापाविरुद्ध आफूले उम्मेदवारी दिने भन्दै रविसँग सहयोगको आग्रह गरे । रविले यसमा सकारात्मक जवाफ दिएको पुण्य बताउँछन् । रविको भनाइ उद्धृत गर्दै पुण्यले भने, ‘तपाईँ योग्य मान्छे हो, तर अहिलेसम्म कतै पनि अवसर पाउनुभएको छैन । यदि चुनावमा उठ्नुभयो भने हाम्रोतर्फबाट सहयोग हुन्छ ।’
एक घण्टा लामो वार्तामा अत्यन्तै सार्थक राजनीतिक एवं पारिवारिक भलाकुसारी भएको छ र गृहमन्त्री लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई देशभक्त नेता र प्रधानमन्त्री प्रचण्डलाई गतिशील नेताको रुपमा मुल्यांकन गरेको पुण्यले बताए ।
पुण्य गौतम अहिले एमालेमा छन् । काठमाडौंमा आयोजित आमसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीको खुट्टा ढोग्दै उनी पार्टी प्रवेश गरेका थिए । तर, एमालेले आफूलाई कुनै पनि भूमिका र जिम्मेवारी नदिएकोमा उनी असन्तुष्ट छन् ।
काठमाडौंका मेयर बालेन साह र धरानका मेयर हर्क साम्पाङप्रती रविको गहिरो सद्भाव रहेको रविसँगको कुराकानीबाट थाहा पाएको उनले बताएका छन् ।




















प्रतिक्रिया