Logo

जनप्रतिनिधि

परिचयपत्र नबनाइदिएपछि भीम रावल एमालेको परिषद् बैठकमा गएनन्



काठमाडौँ । एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एमालेका नेता भीम रावलबीचकाे सम्बन्ध अझै चिसाे रहेकाे प्रष्ट भएकाे छ ।

नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक गोदावरीको सनराईज हलमा जारी छ । उक्त बैठकमा देशभरका नेकपा एमालेका महाधिवेशन प्रतिनिधि परिषद् सदस्यहरू, केन्द्रीय कमिटी सदस्यहरू,केन्द्रीय निकायमा मनोनयन गरेका परिषद् सदस्य तथा केन्द्रीय पदाधिकारी गरी २ हजार ५४५ जना सहभागी छन् । तर त्यस्ताे महत्वपूर्ण बैठकमा सहभागी छैनन् एमाले नेता भीम रावल ।

राष्ट्रिय महाधिवेशन र विधान अधिवेशनपछिको शक्तिशाली कार्यक्रम मानिने परिषद् बैठकमा एमाले नेता भीम रावल भने सहभागी भएनन् । रावल सहभागी नहुनमा अनिच्छा भएर भने होइन । उनलाई कार्यक्रमबारे पार्टी कमिटीले कुनै औपचारिक जानकारी समेत गराएन ।

पार्टी कमिटीले औपचारिक जानकारी नगराएपनि रावल उक्त बैठकमा सहभागी हुन चाहन्थे । त्यसैले उनले गोदावरी बैठकमा सहभागीताका लागि व्यवस्था गरिएको परिचय पत्रबारे सोधखोज गरे । सोधखोजका क्रममा प्रवेशका लागि गरिएको परिचयपत्र नै नबनेको पाएपछि आफू नगएको रावलले बताए ।

‘प्रवेशका लागि मेरो परिचयपत्र नै बनाइएको रहेनछ । परिचयपत्र नै नबनाएपछि ढोकामा गएर प्रवेशका लागि अनुनय विनय गर्न मैले उचित ठानिनँ’, रावलको भनाइ छ ।

गत २०७८ मङ्सिरमा भएको दसौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा ओलीको इच्छाविपरित रावलले अध्यक्षमा उम्मेदवारी दिएका थिए । त्यसयता अध्यक्ष ओली रावलप्रति सकारात्मक छैनन् । गएको निर्वाचनमा समेत रावललाई जिल्ला र प्रदेशबाट उम्मेदवार सिफारिस हुँदा ओलीली टिकट दिएका थिएनन् ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आईतवार १०:१९   :  बजे

165
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।