प्रधानमन्त्री केपी ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल समूहले अविश्वासको प्रस्तावका लागि धमाधम सांसदहरूको हस्ताक्षर गराइरहेको आरोप लगाएका छन् ।
डा. भट्टराईले प्रधानमन्त्री ओलीविरुद्ध दाहाल समूहले सांसदहरूलाई दवाव दिएर हस्ताक्षर गराइरहेको बताए । उनले सांसदहरूलाई धम्काएर हस्ताक्षर गर्न लगाएको कुरा आफूले सुनेको बताउँदै त्यस्ता कार्य नगर्न खुमलटारलाई चेतावनी दिएका छन् ।
नेपाली रेडियो नेटवर्कमा बिहीबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. भट्टराईले सांसदहरूलाई अविश्वासको प्रस्तावका लागि हस्ताक्षर गराउन दुर्भाग्य भएको बताए । उनले प्रधानमन्त्री ओली संसदीय दलमा बहुमतमा रहेको दाबी समेत गरेका छन् ।
‘प्रधानमन्त्रीविरुद्ध अध्यक्ष पुष्पकमल दाहालज्यूले सांसदहरूलाई अविश्वासको प्रस्तावका लागि हस्ताक्षर गर्न लगाउनु भएको भनेर सुनिएको छ, यो आधिकारीक कुरा त होइन’, उनले भने, ‘यदि त्यस्तो भएको रहेछ भने दुर्भाग्य हुनेछ ।’ प्रधानमन्त्री ओलीका सल्लाहकार डा. भट्टराईले सहमति र सहकार्यका साथ अगाडि बढ्ने बेला यस्ता कुराले पार्टीमा एकताका लागि असर पुग्ने बताए ।
प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको सम्बन्धका विषयमा सल्लाहकार डा।भट्टराईले भने, ‘सबैभन्दा नजिक कोही भने प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपाल नै हुनुहुन्छ ।’
नेपाल–भारतबीचको सम्बन्धका विषयमा उनले सम्बन्ध सुधार हुँदै गएको बताए । डा. भट्टराईले नेपाल–भारतबीच सम्बन्ध सुध्रिएर गएको बताए । उनले केही समस्या रहेको भन्दै त्यसलाई कुटनैतिक सम्वादमार्फत टुंगो लगाइने बताएका छन् ।
निर्णायक वार्ता गर्ने भन्दै प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । दुई अध्यक्षबीचको विवादका कारण पार्टी फुट्नेसम्मको चर्चा चलिरहेका बेला प्रधानमन्त्रीसँग निर्णायक छलफल गर्न भन्दै केहीबेरअघि प्रचण्ड बालुवाटार पुगेको स्रोतको भनाइ छ ।
यसअघि हिजो बुधबार नै दुई अध्यक्षबीच भेटवार्ताको तयारी भए पनि पार्टी नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नीको निधनका कारण भेटवार्ता रद्द भएको थियो । पछिल्लो समय दुई अध्यक्षबीच सम्वाद नै टुटेको अवस्था र पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको चर्चा भइरहेका बेला भएको अध्यक्षद्धयको आजको भेटवार्तालाई महत्वपूर्ण रुपमा हेरिएको छ ।




















प्रतिक्रिया