Logo

प्रमुख समाचार

अनुहारमा चायापोतो किन आउँछ?



काठमाडाैं । छालासम्बन्धी समस्याहरूको रुपमा देखिने एक समस्या हो–चायापोतो । जुन समस्या हामीमध्ये धेरैले देखेका अथवा भोगेका पनि हुन सक्छौँ ।

यसको समाधानको लागि धेरैले विभिन्न कस्मेटिक प्रोड्क्टहरू पनि प्रयोग गरिरहेको पाइन्छ । बजारमै पनि चायापोतो हटाउने धेरै प्रकारका क्रिमहरू पाइन्छन् । ती क्रिमहरू किनेकाहरूले पनि प्रायः चायापातो नगएको गुनासो गरिरहेको हामी सुन्छौं ।

क्रिम प्रयोग गरुञ्जेल अनुहारको चायापोतो नदेखिने र क्रिम प्रयोग गर्न छोडेपछि चायापोतो देखिन थाल्ने समस्याले मानिसहरु दिक्क छन् । चायापोतो आउन नदिनु नै सबैभन्दा उपयुक्त हुन्छ । त्यसैले चायापोतो किन आउँछ ? यसको उपयुक्त उपचार के हुन सक्छ ? भन्ने विषयमा यो लेख तयार गरिएको हो ।

चायापोतो भनेको रङ्ग कालो हुने रोग हो । छालामा दाग देखिने यो समस्या प्रायः महिलाहरूमा धेरै देखिने हुन्छ ।

१०० जना मानिसहरूमा चायापोतोको परीक्षण गरियो भने त्यसमा ८० जना महिलाहरूलाई चायापोतोको समस्या देखिन्छ । यसरी हेर्दा यो समस्या महिलाहरूमा ८० प्रतिशत देखिन्छ भने पुरुषहरूमा २० प्रतिशत । र, यो समस्या २० देखि ४० बर्षको उमेरमा सुरु हुन्छ । औसत उमेर भन्दा चाहिँ ३० वर्षमा हुन्छ ।

चायापोतो शरीरको घाम परिरहने ठाउँहरूमा आउँछ । जस्तैः निधार, नाक, गाला, चिउँडो र माथिल्लो ओठमा । त्यो बाहेक घाममा धेरै एक्सपोज भयो भने घाँटीमा पनि आउन सक्छ ।

के कारणले आउँछ त चायापोतो ?

चायापोतो आउने प्रमुख कारण भनेको घाम हो । त्यसबाहेक गर्भनिरोधकका अस्थायी साधनको प्रयोगहरू जस्तै हर्मोनल पिल्स चक्कीहरू र संगिनी सुई लगाउँदा, गर्भवती अवस्थामा वा कुनै मानसिक समस्या सम्बन्धी औषधीहरूको प्रयोग गरेमा, थाइराइडबाट समस्याग्रस्त अवस्थामा, ल्यापटपको स्क्रिनमा धेरैबेर काम गर्दा र खाना बनाउँदा आगोको रापमा धेरैबेर बस्दा चायापोतो आउनसक्छ । साथै यो वंशाणुगत समस्या पनि भएको हुँदा वंशको आधारमा सन्तानहरूमा देखिने पनि गर्छ ।

चायापोतो आउँदा कस्ता लक्षणहरू देखिन्छन् त ?

सामान्य छालाबाट छाला बिस्तारै कालो हुँदै जान्छ । सुरुमा छालको सतह थोरै खैरो हुँदै जान्छ र बिस्तारै त्यही खैरो रङ कालोमा परिणत हुन्छ । त्यसपछि कुनै–कुनै बेला पुरै अनुहार नै कालो पनि हुने गर्छ ।

चाया पोतो कति प्रकारका हुन्छन् ?

विशेषगरी चायापोतोलाई दुई भागमा विभाजन गरेर हेरिन्छ । एक, एपिडर्मल । डर्मल र मिश्रित (डर्मोएपिडर्मल) छालाको माथिल्लो तहलाई मात्रै छुने चायापोतोलाई एपिडर्मल भनिन्छ ।

यो लाइट ब्राउन खालको हुन्छ । यसको सहजै उपचार हुने हुन्छ । दोस्रो, त्यही चायापोतोको उपचार गरिएन र सूर्यको किरणमा रहिरह्यौँ भने डर्मरलमा परिणत हुन्छ । जसको रङ डार्क ब्राउन वा कालो कलरको हुन्छ ।

र, दुवै विशेषता भएको चायापोतोलाई डर्मोएपिडर्मल भनिन्छ । यो अवस्थासम्म मानिस तब पुग्छन्, जब डाक्टरलाई नदेखाइ कुनैपनि पार्लर या मेडिकलबाट जुनसुकै क्रिमहरू किनेर प्रयोग गरेमा यो समस्या आउने हुन्छ ।

तर ती क्रिमहरू मध्येमा Melacare, mofur, betnovate, elocon, extina, cloben–g, sonaderm GM जस्ता मलमहरू डाक्टरको परामर्श बिना बेच्न पाइँदैन । तर यी मलमहरू सस्तोमा जुनसुकै मेडिकलहरुमा पाइने हुँदा धेरैले त्यतिकै प्रयोग गर्ने गर्छन् । जो हाम्रो छालाको लागि उपयुक्त मानिँदैन । डाक्टरको परामर्श बिना जथाभावी किनेर प्रयोग गरिएका क्रिमहरूले अनुहार चिलाउने, छाला पातलो र रातो हुने समस्याहरू देखिन थाल्छन् ।

चायापोतोबाट बच्न कस्ता खालका क्रिमहरू प्रयोग गर्ने त ?

चायापोतोबाट बच्न सनस्क्रिनको प्रयोग गर्नुपर्छ । सनस्क्रिनमा पनि एसपीएफ ५० को सनस्क्रिन प्रयोग गर्नुपर्छ । त्यो सनस्क्रिन तीन–तीन घण्टाको अन्तरमा लगाइराख्नुपर्ने हुन्छ ।

लगाउँदा हाम्रो औँला टिप एकाइसम्म लिनुपर्छ । जसलाई वान फिङ्गर टिप युनिट भन्ने गरिन्छ । चायापोतो हटाउने क्रिमहरूमा हाइड्रोक्विनोन, कोजिक एसिड, अल्फा अर्बुटिन, ग्लुटाथियोन र मलबेरी एक्स्ट्र्याक्ट लगायत यी तत्वहरू पाइने क्रिम÷मलमहरूले चायापोतोलाई फिक्का पार्दै लैजान्छ ।

सुरुमा सनस्क्रिनको प्रयोग गर्नुपर्छ, घामबाट बच्न । यदी चायापोतो आइसक्यो भने मलमहरूको प्रयोग डाक्टरहरुको सल्लाहमा गर्न सकिन्छ । यदि मलमले पनि ठिक भएन भने केमिकल पिलिङ गर्नुपर्छ । जसले गर्दा माथिल्लो छालालाई फाल्ने र नयाँ छाला सफा भएर आउने गर्छ ।
चायापोतोको उपचार गरेपनि यदि घामबाट जोगिएनौं भने उपचारले पनि काम गर्दैन । त्यसैले प्रथमतः घामबाट आफ्नो छाला बचाऔँ । र, छाला रोग विशेषज्ञको सल्लाह अनुसार नै छालाको सुरक्षामा ध्यान दिऔँ ।

–यो सामाग्री छाला रोग विशेषज्ञ डा. विभुष अमात्यसँग गरिएको कुराकानीका आधारमा तयार गरिएको हो ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आईतवार १६:०९   :  बजे

231
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।