Logo

टिप्पणी

सत्ताधारीहरुको सातो खाने तत्व !



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय नकै त्रसित अवस्थामा देखिन्छन् ।

जता जस्तोसुकै कार्यक्रममा बोल्दा पनि उनको एउटै बोली हुने गरेको छ कि जनता भड्काउने खेल भइरहेको छ, त्यस विरुद्ध सचेत रहनु पर्छ ।

हुँदा हुँदा गत बुधबार त एमाले पार्टीको पोलिटब्युरो बैठकमा ओली यो व्यवस्था फाल्ने र राजसंस्था फर्काउने गरी खेल भइरहेको भन्दै २१ औं शताब्दीमा एउटा परिवारको शासन चल्न दिन सकिदैन भन्दै गणतन्त्र जोगाउन सडक आन्दोलनमा जानुपर्ने हुनसक्छ भनेका थिए ।

प्रधानमन्त्री जस्तो व्यक्तिले व्यवस्था जोगाउन सडकमा जानुपर्छ भन्नु भनेको निकै तर्सिएको अवस्था हो । ओलीले पटक पटक पूर्व प्रधानमन्त्री प्रचण्डमाथि पनि देशमा भाँड्भैलो निम्त्याउन खोजेको आरोप लगाइरहेका छन् ।

अर्कोतर्फ गत बुधबार नै कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस निकट निजामति कर्मचारीको कार्यक्रममा गणतन्त्र जोगाउने विषयमा कांग्रेस र एमालेबीच कुनै मतभेद नरहेको भन्दै कर्मचारीहरुलाई पनि सहयोग गर्न आह्वान गरे ।

सत्ताको नेतृत्व गरेका ओली र सत्ता साझेदार दलको सभापति देउवाका यी एकैखाले अभिव्यक्ति त्यत्तिकै आएका हुन भन्ने कसैलाई लाग्छ भने त्यो मुर्खता हो । यिनीहरु निकै तर्सिएको र डराएको अवस्था हो भन्नेमा कुनै द्विविधा छैन ।

देशभित्र असन्तुष्टि छ भन्ने कुराले मात्रै ओली र देउवा तर्सिएका होइनन् । यिनीहरुले कांग्रेस र एमाले मिलेपछि सबै ठिकठाक भइहाल्छ भनेर जसरी सोचेका थिए त्यो नहुने पक्का भइसक्यो ।

बूढा गोरुले खेत जोग्दैनन् भन्ने जनताले बुझेका छन् भन्ने यिनीहरुलाई थाहाँ भइसक्यो । त्यसमाथि अन्तर्राष्ट्रिय शक्तिहरुको पनि यिनीहरुलाई समर्थन छैन भन्ने पनि देखिँदैछ ।भारतले प्रधानमन्त्री ओलीलाई फिटिक्कै वास्ता गरेको छैन । ओलीले घुँडा टेक्न खोज्दा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कर्के नजर समेत लगाएका छैनन् ।

भारतसँग सम्बन्ध नहुँदा के कति क्षति हुन्छ भन्ने ओलीलाई राम्रैसँग थाहाँ छ । त्यही भएर पनि उनी अलि बढी तर्सिका हुन् कि भन्ने विश्लेषण पनि भइरहेको छ । अर्कोतर्फ अमेरिका पनि ओली सरकारप्रति खासै सकारात्मक नरहेको बुझिएको छ । ओलीको चिनियाँहरुसँगको साठगाँठ अमेरिकीहरुले राम्रो मानेका छ्रैनन् ।

बंगलादेशमा दुई तिहाई बहुमतको सरकार कसरी उड्यो भन्ने देखेका ओली र देउवा साँच्चिकै तर्सिएका छन् । अब हुने उथलपुथलले व्यवस्थासँगै आफूहरुलाई पनि बढार्छ भन्ने पनि यिनीहरुले बुझेका छन् ।

भित्रभित्रै उथलपुथलका लागि भइरहेको अभ्यासप्रति पनि यिनीहरु सचेत छन् । कति बेला कहाँबाट कसरी परिस्थिति भड्किन्छ भन्ने त्रासमा यिनीहरु बाँचेका नेपालीपत्रमा खबर छ । समाजमा आफूहरुप्रति कति विश्वास छैन र विश्वास जाग्ने अवस्था पनि छैन भन्ने पनि यिनीहरुले बुझेका छन् । त्यसैले सत्ताधारीहरुको मुटुमा ढ्यांग्रो ठोकिरहेको हो भन्दा फरक पदैन ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलवार २१:१४   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।