काठमाडौं । असोज दोस्रो साता अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण भएको धनजनको क्षतिमा बीमा कम्पनीहरूमा करिब ९ अर्ब रुपैयाँको दाबी परेको छ । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरूका विभिन्न बीमालेख बापत असोज २९ गतेसम्म सो बराबरको मागदाबी परेको हो ।
साना–ठूला गरी १८ बीमा कम्पनीमा कुल ८ अर्ब ९८ करोड ३० लाख २६ हजारभन्दा बढीको बीमा दाबी परेको नियामक नेपाल बीमा प्राधिकरणले जनाएको छ ।
मागदाबी पर्नेमा १४ वटा इन्स्योरेन्स कम्पनी र ४ वटा माइक्रो इन्स्योरेन्स कम्पनी रहेका छन् । यो अवधिमा मागदाबी सम्बन्धी तीन हजार २४४ वटा निवेदन प्राप्त भएको प्राधिकरणले जनाएको छ ।
कुल ३२ सय ४४ वटा बीमा दाबी परेको नियामकले जनाएको छ । ८१६ वटा निजी र ३४० वटा सार्वजनिक सवारी साधनमा क्षति पुगेको भन्दै बीमा दाबी गरिएको छ । यस्तो बीमा दाबी कुनै पनि सवारीसाधनको पूर्ण बीमा (फुल इन्स्योरेन्स) भएको अवस्थामा मात्रै गर्न मिल्छ ।
निर्जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै मागदाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा परेको छ । यस कम्पनीमा १ अर्ब ९५ करोड २९ लाखको मागदाबी परेको पाइएको छ ।
त्यस्तै, ओरियन्टल इन्स्योरेन्समा १ अर्ब ४५ करोड ६८ लाख, हिमालयन एभरेस्ट इन्स्योरेन्समा १ अर्ब ८ करोड ८६ लाख, नेको इन्स्योरेन्समा ९६ करोड ८५ लाख, शिखर इन्स्योरेन्समा ९३ करोड ३६ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ६६ करोड १३ लाख र नेशनल इन्स्योरेन्समा ५६ करोड ४६ लाख रुपैयाँ बराबरको मागदाबी परेको छ ।
त्यस्तै, नेपाल इन्स्योरेन्ससँग ३४ करोड ७४ लाख, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा ३१ करोड ५३ लाख, एनएलजी इन्स्योरेन्समा १९ करोड ८ लाख, सानिमा जीआईसी इन्स्योरेन्समा १७ करोड ७६ लाख, युनाइटेड अजोड इन्स्योरेन्समा १० करोड ९८ लाख, राष्ट्रिय बीमा कम्पनीमा १० करोड ६७ लाख, प्रभु इन्स्योरेन्समा १० करोड २५ लाख रुपैयाँको मागदाबी परेको छ ।
चार माइक्रोइन्स्योरेन्समध्ये स्टार माइक्रोइन्स्योरेन्समा ३५ लाख, ट्रस्ट माइक्रोइन्स्योरेन्समा १५ लाख, नेपाल माइक्रो इन्स्योरेन्समा साढे ८ लाख र प्रोएक्टिभ माइक्रो इन्स्योरेन्समा साढे तीन लाख रुपैयाँ मागदाबी परेको छ ।




















प्रतिक्रिया