Logo

राजनीति

कीर्तिपुरको मेयरमा कांग्रेसबाट ११ जना सिफारिस



काठमाडौं । नेपाली कांग्रेसको कीर्तिपुर नगर समितिले १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनका लागि आकांक्षी ११ जनाको नाम क्षेत्रीय समितिमा सिफारिस गरेको छ ।

नगर समिति सभापति कृष्णमान डंगोललाई पहिलो नम्बरमा राखेर नाम पठाइएको छ । त्यसपछि क्रमशः बद्रीलाल महर्जन, हिमाल कार्की, जमुना नकर्मी, संगीत बोगटी, सशीर महर्जन, राममान सिंह, जनकलाल महर्जन, मीनप्रकाश महर्जन, किरण केसी र सचिन्द्र महर्जनको नाम सिफारिस भएको छ ।

पहिलो नम्बरमा नाम सिफारिस भएका कृष्णमान वर्तमान नगर सभापति हुन् । तेस्रो कार्यकालका लागि नगर समिति सभापति रहेका उनी ललितकला क्याम्पसका पूर्वस्ववियू अध्यक्ष हुन् ।

नेकपा एमालेले जाजरकोटको नलगाढ नगरपालिकाको उपमेयरका लागि सुनिता बोहोरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले जाजरकोट जिल्ला कमिटी उपसचिव रहेकी बोहोरालाई उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो । जाजरकोट केन्द्रबिन्दु भई आएको भूकम्पमा परी नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको मृत्यु भएको थियो । उपमेयर सिंहको मृत्यु भएपछि रिक्त रहेको उपमेयरको पदमा मंसिर १६ गते उपनिर्वाचन हुँदैछ ।

अन्य दलले भने उपमेयरका लागि उम्मेदवार टुंगो लगाइसकेको छैन ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलवार १५:२२   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।