Logo

प्रमुख समाचार

यता प्रचण्डको छटपटी ! उता रविलाई सबै जिल्लाबाट पक्राउ पुर्जी



काठमाडौं । शान्ति प्रक्रियामा आएदेखि गत असार ३० गतेसम्म करिब १८ वर्षको समय अवधिमा तीन वर्ष दुई महिना २३ दिनमात्र सत्ता बाहिर रहँदै निरन्तर झन्डै १५ वर्ष सत्तामा रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ताका लागि जस्तोसुकै हथकण्डा अपनाउने र सत्ता बाहिर हुनुपर्दा छट्पटाउने राजनीतिक मूल्य मान्यता तोड्ने र कटनीतिक मर्यादासमेत बिर्सने नेताका रूपमा स्थापित भएका छन् ।

प्रचण्डले आफू सत्तामा हुँदा देशमा सबै ठीक देख्छन् तर सत्ता बाहिर हुँदा देशमा प्रतिगमन, भ्रष्टाचार, सरकारको अकर्मण्यता देख्छन् । त्यतिमात्र हैन त्यसका विरुद्ध आन्दोलन क्रान्ति सबै एकसाथ सुरु गर्ने धमास दिन थाल्छन् ।

कहिले कांग्रेस त कहिले एमालेको काँध चढेर प्रधानमन्त्रीको कर्सीमा बसिरहने कच्चा खेल खेलेका प्रचण्डलाई कांग्रेस एमाले मिलेर सत्ता साझेदारी गरेपछि प्रतिपक्षमा पुग्दा दैनिक छटपटी बढ्दै गएको उनको अभिव्यक्तिमा प्रस्ट देखिन्छ ।

जसको बुई चढेर भए पनि जसलाई रिझाएर भए पनि नेपालको राजनीतिमा सत्तामा आफूलाई सधै केन्द्रमा राख्न चाहने प्रचण्ड स्वभावबाट सबै परिचित भइसकेका छन् ।

प्रधानमन्त्री ओलीको चीन भ्रमण तय भएपछि केही समयअघि प्रचण्डले कूटनीतिक मान्यतासमेत भुलेर भारतीय सञ्चार माध्यममा आपत्तिजनक अभिव्यक्ति दिए ।

भारतबाट प्रकाशन हुने अंग्रेजी भाषाको अखबारमा ‘दि हिन्दू’ मा पूर्वप्रधानमन्त्री प्रचण्डले कूटनीतिक मर्यादा र देशको स्वाभिमानलाई प्रश्न गर्नेगरी भारतभन्दा पहिले चीनको भ्रमण गर्न लागेर प्रधानमन्त्री केपी शर्मा ओलीले चाइना कार्ड खेलेको आरोप लगाएका थिए ।

पहिलो पटक प्रधानमन्त्री हुँदाको पहिलो विदेश भ्रमण चीनबाटै गरेका उनले ओलीको आसन्न चीन भ्रमणलाई भने चिनियाँ कार्ड खेलेको बताएर सत्तामा पुग्न भारतलाई रिझाउन बोलेको भनेर आलोचना भइरहेको छ ।

प्रधानमन्त्री औपचारिक भ्रमणका क्रममा एउटा छिमेकमा जान लागेका बेला जिम्मेवार नेताले अर्को छिमेकीलाई उक्साउने र आपसी सम्बन्धमा आशंका उत्पन्न गराउने ढंगले अभिव्यक्ति दिन आपत्तिजनक र कटनीतिक रूपमा राष्ट्रिय हितविपरीत हुने कूटनीतिक मामलाका जानकारहरू बताउँछन् ।

यस्तै, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले कांग्रेस एमाले मिलेर बनेको केपी शर्मा ओली नेतृत्वको सरकारप्रति दवै छिमेकी खसी नभएको टिप्पणी सार्वजनिक गरेका छन् ।
सत्ताबाट विमुख हुनुपर्दा प्रचण्डले आफू र आफ्नो पार्टी अब सत्ताको खेलमा नलाग्ने जनतामा जाने बताए पनि फेरि सत्ताको च्याखे दाउमा लागेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीसँग ३२ सिटको अझै म्याजिक नम्बर नै रहेको दावी गरेका छन् । माओवादी काभ्रे काठमाडौं सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै उनले म्याजिक सिटकै कारणले अहिले नै चिन्तित हुनुपर्ने कारण नरहेको बताए ।

उनले भनेका थिए, ‘हामीले भ्रष्टाचारविरुद्धको अभियान भनेर सुरु गन्यौ, हामीसंग संख्या थिएन । यही हलमा हो, तामाङ राष्ट्रिय मुक्ति मोर्चाको सम्मेलन थियो । मैले ३२ को हाम्रो संख्यालाई जादुको संख्या भनेको थिएँ, मेरो यही भनाइले उनीहरू अझै बढी उद्वेलित र तरंगित पनि भए होलान् ।

मैले त्यो नभनेको भए पनि हुन्थ्यो होला, तर पनि अहिले पनि हाम्रो संख्या म्याजिक नै छ भन्छु । किनभने ३२ भएकाले प्रमुख विपक्षी दलको नेता छ हाम्रो पार्टी, विपक्षी दल भनेको गभमेन्ट इन् वेटिङ भन्छ पर्खिरहेको सरकार, यो सरकारलाई उल्ट्याएर बन्ने सरकार हाम्रै हो फेरि त्यसकारण हामी चिन्तित हुनुपर्ने कारण छैन ।

रविलाई सबै जिल्लाबाट पक्राउ पुर्जी

भिन्न पाँच सहकारीको ६५ करोड ५४ लाख रुपैयाँ गोर्खा मिडियामा ल्याई अपचलन गरेको विषयमा पक्राउ परी कात्तिक २ गतेदेखि पोखरामा प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेमाथि पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनासँगै अन्य चार जिल्लाका थप चार सहकारीको रकम अपचलनमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ र ती जिल्लामै लगेर रविको बयान लिने काम भइरहेको छ ।

पोखरामा सहकारी, ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहँदा गत साता रविलाई रूपन्देही लगेर बुटवलको सुप्रिम सहकारीमा भएको रकम अपचलनका बारेमा प्रहरी र सरकारी वकिलको कार्यालयले बयान लिएका छन् ।

भैरहवामा तीन दिन राखेर पोखरा फर्काइएका रविमाथि अहिले काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा र वीरगन्जको सानो पाइला सहकारीको रकम अपचलनमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

काठमाडौं प्रहरीले काठमाडौं जिल्ला अदालतबाट रविसहितका व्यक्तिहरूविरुद्ध पक्राउ पुर्जी नै जारी गराई अनुसन्धान गरिरहेको छ र सम्भवतः आइतबार रविलाई पोखराबाट काठमाडौं ल्याइँदैछ । यसअघि नै काठमाडौं प्रहरीले गोर्खा मिडियाका रविका तत्कालीन साझेदार छविलाल जोशी, कुमार रम्तेलसहितका व्यक्तिहरूलाई काठमाडौं ल्याएरै बयान लिइसकेको छ ।

अन्य आरोपीहरूसँग बयान लिएपछि रविसँग बयान लिने प्रहरीको तयारी छ । पक्राउ पुर्जी जारी गरेर अनुसन्धान सुरु गरिएको छ र कास्की प्रहरीलाई पनि यसवारेमा पत्राचार गरिएको छ, काठमाडौँ प्रहरी प्रमुख वसन्त रजौरेले भनेका छन् ।

काठमाडौंपछि रविलाई चितवन लैजाने तयारी छ । चितवन प्रहरीले सहकारी पीडितहरूको थप जाहेरीपछि सहारा सहकारीमा भएको अपचलनको दोस्रो चरणको अनुसन्धान गरिरहेको छ ।

सहारा सहकारीबाट पनि ग्यालेक्सी टीभीमा रकम आएको थियो। सहाराको रकम अपचलनमा रविको बयान लिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्ज लैजाने छ, जहाँ रविमाथि सानो पाइला सहकारीको रकम अपचलनको आरोपमा अनुसन्धान भइरहेको छ ।

रास्वपाले राजनीतिक प्रतिशोध साँधेर सरकारले रविलाई पक्राउ गरी हिरासतमा राखेको दाबी गरिरहे पनि रविमाथि जे जस्ता आरोप लागेका छन्, ती गम्भीर खालका छन् । रविले हिरासतबाटै आन्दोलन चर्काउन पार्टीका नेताहरूलाई निर्देशन दिए पनि रास्वपाले आन्दोलनको रूप फेरेको छ ।

पहिलो चरणको आन्दोलनअन्तर्गत करिव एक महिना काठमाडौं, पोखरा, चितवन, बुटवल र भैरहवामा सडकमा प्रदर्शन गरेको रास्वपाले दोस्रो चरणको आन्दोलनमा भने सडकमा प्रदर्शन नभई उपनिर्वाचन हुने स्थानीय तहमा सरकारविरुद्ध कोणसभा गर्ने र आफ्ना उम्मेदवारलाई मत माग्ने निर्णय गरेको देशान्तरमा खबर छ ।

सडक आन्दोलनका कारण पार्टीकै आलोचना बढेपछि नेताहरूले आन्दोलनको स्वरूप फेरेका हुन् ।

रविमाथि न्यायिक प्रक्रिया. चलिरहेकाले न्यायालयलाई प्रभावित हुने गरी रास्वपाले आन्दोलन गरिरहेको र यसले रविलाई मात्रै नभई सिंगो रास्वपालाई नै असर पर्ने चर्चा सुरु भएपछि रास्वपाले नयाँ निर्णय गरेको हो ।

मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा रास्वपाले ४४ मध्ये जम्मा २६ स्थानमा मात्रै उम्मेदवारी दिएको छ । अहिले सबैभन्दा बढी चर्चामा रहेको कीर्तिपुर नगरपालिकाको प्रमुखमा नै रास्वपाले उम्मेदवारी दिन सकेन ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार ०७:५६   :  बजे

165
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।