Logo

प्रमुख समाचार

स्थानीय तह उपनिर्वाचन : कीर्तिपुरकाे मेयरमा कसले मार्ला बाजी ?



काठमाडौं । आगामी मंसिर १६ गते ४४ पदका लागि स्थानीय तह उपनिर्वाचन हुँदैछ। जसमध्ये विशेष चर्चामा छ, काठमाडौंको कीर्तिपुर। यहाँ पछिल्लो निर्वाचनबाट नेपाली कांग्रेसका राजकुमार नकर्मी निर्वाचित भएका थिए। तर, उनको निधन भयो । यससँगै यहाँ पनि उपनिर्वाचन हुन लागेको हो।

कीर्तिपुरमा २० जनाको उम्मेदवारी दर्ता भएको छ। जसमध्ये ११ जनाको दलीय उम्मेदवारी हो भने ९ जनाले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन्। २० जनामध्ये ४ जनाको भने विशेष चर्चा छ। नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल, नेकपा (एमाले) का उम्मेदवार डा. सुरेन्द्र मानन्धर, नेकपा (माओवादी केन्द्र) का उम्मेदवार प्रा.डा.शिवशरण महर्जन र स्वतन्त्र उम्मेदवार राजमान मानव विशेष चर्चामा छन्।

उनीहरू प्रचारप्रसार र घरदैलो कार्यक्रममा आक्रामक ढङ्गले लागिरहेका छन्। मतदान हुन ५ दिन मात्रै बाँकी छँदा उनीहरू बिहानदेखि रातिसम्म घरदैलो कार्यक्रममा नै भेटिन्छन्। कांग्रेस उम्मेदवार कृष्णमान डंगोलको दाबी छ, ‘यसपटक पनि हामी जित्छौँ, मतदाताले मलाई जिताउँछन्।’ अघिल्लो निर्वाचनमा पनि कांग्रेसले नै जितेको उल्लेख गर्दै उनी थप्छन्, ‘जितेर जनताको सेवा गर्ने सोच छ, जनताले वचन पनि दिएका छन्।’ अरु उम्मेदवार पनि कमजोर देखिनुहुन्न नि ? भन्ने जिज्ञासामा उनको जवाफ छ, ‘हो धेरै साथीहरू हुनुहुन्छ । तर, जित मेरै हुन्छ। म यसमा ढुक्क छु । जनताको झुकाव पनि म र मेरो पार्टी नेपाली कांग्रेसप्रति नै बढी छ।’

त्यसो त डंगोललाई अघिल्लो निर्वाचनको विरासत जोगाउनुर्ने चुनौती छ । त्यो चुनौती सामना गर्न आफू तम्तयार भएको भनाइ डंगोलको छ। ‘अघिल्लो निर्वाचन पनि हामीले नै जितेका हौँ। अहिले पनि जित्छौँ। कामलाई निरन्तरता दिने दायित्व हाम्रै हो,’ उनले भने। एमाले उम्मेदवार सुरेन्द्र मानन्धर आफूले जित्नेमा ढुक्क छन्। उनले कसरी काम गर्ने भनेर कार्ययोजना नै बनाइसकेका छन्। उनको दाबी छ कि गरिएको कामको सकारात्मक परिणाम एक महिनाभित्र देखिनेछ।

यता माओवादी केन्द्रका उम्मेदवार प्रा.डा. शिवशरण महर्जन कीर्तिपुरका जनताले आफूलाई खोजिरहेको दाबी गर्छन्। कांग्रेस-एमालेलाई पटकपटक जिताएको तर, चाहेअनुरूप काम नगरेको गुनासो आफूलाई जनताले सुनाउने गरेको भनाइ महर्जनको छ।’मतदाताले माओवादीलाई एकपटक हेर्नुपर्‍यो भनेका छन्। यसर्थ, यसपटक मेरो जित निश्चितजस्तै हो,’ उनले भने।

त्यसो त सङ्गठनका हिसाबले कीर्तिपुरमा माओवादी तेस्रो हो। कांग्रेस र एमालेको सङ्गठन माओवादीको भन्दा ठूलै छ। तर, यसपटक भने जनताले सङ्गठनभन्दा पनि व्यक्ति (उम्मेदवार) हेर्ने उच्च सम्भावना रहेको जिकिर महर्जनको छ। ‘यसपटक मलाई नै जिताउँछन् जनताले। घरदैलोमा पुग्दा प्रत्येक मतदाताले त्यही भन्नुभएको छ। म ढुक्क छु,’ उनले भने।

स्वतन्त्र उम्मेदवार राजमान मानव उत्साहित छन् । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि साथ दिँदा उनको उत्साहले आकास छोएको छ। यसपछि घरदैलो कार्यक्रमका क्रममा मानवले हौसिँदै भन्ने गरेका छन्, ‘जनताले मलाई पनि हर्क साम्पाङ जस्तै बनोस् भन्ने चाहेका छन्। म त्यस्तै बन्न पनि चाहन्छु । तपाईंहरूले साथ दिनुपर्‍यो।’

उनले मतदाताले राम्रो ‘रेस्पोन्स’ गरिरहेको बताउँछन्। ‘म यहाँ सरसफाइ गर्छु। जनताले पनि त्यो मन पराउनुहुन्छ । फोहोर बढार्न थालेको ११ वर्षको हुँदादेखि हो। अझै बढार्छु। मैले जनतालाई पनि त्यही भनेको छु। उहाँहरूले शुभेच्छा दिनुभएको छ,’ उनले भने, ‘अब समाजका विभिन्न खाले फोहोर पनि बढार्छु।’

मानवको इच्छा छ, बढार्दै नै मर्न पाउँ ‘ म फोहोर देख्दा खुसी हुन्छु, बढार्न पाएँ भनेर। समाजलाई पनि सफा गर्नु छ। यो मेरो यात्रामा जनताले मलाई साथ दिन्छन् भन्नेमा ढुक्क छु। यसपटक जित मेरै हुन्छ,’ उनले भने।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार ०७:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।