Logo

खेलकुद

जनकपुरलाई हराउँदै चितवन प्लेअफमा लगभग पक्का



काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको २५ औँ खेलमा जनकपुर बोल्ट्स पराजित भएको छ । जनकपुरलाई चितवन राइनोजले ३२ रनले पराजित गरेको हो । जितसँगै चितवनले प्लेअफमा स्थान लगभग पक्का गरेको छ । तर ढुक्क हुनका लागि अन्य खेलमा पनि भर पर्नेछ ।

दुवै टिमले लिग चरणका खेल सकेका छन् । जनकपुर यसअघि नै प्लेअफमा पुगिसकेको छ ।

खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै चितवनले ५ विकेटको क्षतिमा १८० रन बनायो ।

कप्तान कुशल मल्लले ४१ बलमा ७२ रन बनाए । चौथो विकेटका लागि कुशलसँग ११३ रनको साझेदारी गर्ने क्रममा रवि बोपाराले ३२ बलमा ४४ रन जोडे ।

जवाफमा जनकपुरले १८ ओभरमा अलआउट हुँदै १४८ रन बनायो । जेम्स नीशमले २४ बलमा ६५ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।

चितवनका लागि रिजन ढकाल, सोहेल तन्भिर र कुशल मल्लले २–२ विकेट लिए ।

अंक तालिका

७ खेलबाट १० अंकसहित शीर्ष स्थानमा रहेर जनकपुर एक खेलअघि नै प्लेअफमा पुगेको छ । ५ खेलबाट ८ अंकको सुदूरपश्चिम रोयल्स दोस्रो स्थानमा छ ।

चितवन ७ खेलबाट ८ अंकसहित तेस्रो स्थानमा रहेको छ । कर्णाली ६ खेलबाट ८ अंकसहित चौथो स्थानमा रहेको छ ।

काठमाडौँ गुर्खाज ६ खेलबाट ६ अंकसहित पाँचौँ स्थानमा छ । विराटनगर किंग्स ६ खेलबाट ४ अंकसहित छैटौँ स्थानमा रहेको छ ।

पोखरा एभेन्जर्स ६ खेलबाट ४ अंकसहित सातौँ तथा लुम्बिनी लायन्स ७ खेलबाट २ अंकसहित पुछारमा रहेको छ ।

यसअघिका खेल
–२४ औँ खेलमा पोखरा एभेन्जर्स पराजित भएको छ । पोखरालाई काठमाडौँ गुर्खाजले ६ विकेटले हराएको हो ।

–२३ औँ खेलमा विराटनगर किंग्स विजयी भएको छ । विराटनगरले चितवन राइनोजलाई ५१ रनले हराएको हो ।

– २२ औँ खेलमा लिगको अन्तिम खेल खेलेको लुम्बिनी लायन्सले कर्णाली याक्ससँग ५ रनको हार बेहोर्यो ।
–२१ औँ खेलमा काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ ।
–२० औँ खेलको विजेताको निर्णय सुपर ओभरबाट भएको छ । विराटनगर किंग्सले १३९ रन बनाएकामा पोखरा एभेन्जर्सले पनि बराबरी स्कोर बनाएपछि सुपर ओभरमा पोखरा १३ रनले विजयी भयो । पोखराले १८ रन बनाउँदा विराटनगर ५ रनमै रोकियो । सुपर ओभरबाट छिनोफानो भएको यो पहिलो खेल हो ।
–१९ औँ खेलमा लुम्बिनी लायन्स काठमाडौँ गुर्खाजसँग १८ रनले पराजित भएको छ । यो हारले लुम्बिनी प्लेअफ होडबाट बाहिरिने पहिलो टिम बनेको छ ।

दशौँ खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई ६ विकेटले हरायो ।

– नवौँ खेलमा काठमाडौँ गुर्खाजमाथि ७३ रनको जित हासिल गर्दै सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित हासिल गर्यो ।

– आठौँ खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्यो ।

–सातौँ खेलमा विराटनगर किंग्सले लुम्बिनी लाइन्समाथि २ विकेटको रोमाञ्चक जित हासिल गर्दै पहिलो जित हासिल गरेको छ । लुम्बिनीबाट पाएको १९२ रनको फराकिलो चुनौती विराटनगरले १९.५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो ।

– छैटौँ खेलमा काठमाडौँ गुर्खाज विजयी भएको छ । काठमाडौँले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो ।

– पाँचौ खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई हराएको छ । पोखरा ८८ रनले पराजित भएको हो ।

– चौथो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले हरायो । सुदूरले ७ विकेटको क्षतिमा १८२ रन बनाएकामा विराटनगर ९२ रनमा समेटियो ।

– तेस्रो खेलमा जनकपुर बोल्टसले कर्णाली याक्समाथि ८ विकेटको जित हासिल गरेको हो ।

–दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । विजयी शुरुआत गर्ने क्रममा चितवनले काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको हो ।

–उद्घाटन खेलमा जनकपुर बोल्टसले विराटनगर किंग्समाथि शानदार ८ विकेटको जित हासिल गरेको थियो ।

पहिलो पटक आयोजित एनपीएलमा आठ टिम रहेका छन् ।

 

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार १७:१८   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।