काठमाडौं । एमालेबाट निष्कासित भएपछि नयाँ पार्टी निर्माणको छलफलमा जुटेका डा. भीम रावलले राजनीतिक भेटवार्तालाई तीब्रता दिएका छन् । सोमबार बिहान उनले नेपाली कांग्रेस (बीपी)का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा. तारा जोशीसँग भेटवार्ता गरेका छन् ।
कांग्रेस डडेल्धुरा सभापति हुँदा मल्ल र सभापति शेरबहादुर देउवाबीच सम्बन्ध बिग्रेको थियो । त्यसपछि उनले कांग्रेस छाडे । केही समयपछि मल्ल कांग्रेस (बिपी)का उपसभापति भएका थिए ।
कांग्रेस (बिपी)का उपसभापति मल्ल काठमाडौंमा छन् ।
भेटवार्तामा रावलले विभिन्न पार्टीबाट अन्यायमा परेकाहरू एकठाउँमा आएर बलियो शक्ति निर्माण गर्नुपर्ने प्रस्ताव राखेको स्रोतले बतायो ।
रावलले पुस १७ गते पत्रकार सम्मेलन गरी केही कुरा राख्ने र त्यसपछि नयाँ ढंगले अघि बढ्न सकिने स्रोतले बतायो ।
जोशी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य थिए । डडेल्धुराका उनी त्यसअघि एमाले नेता थिए । एकीकृत समाजवादीले प्रदेश सभा सदस्यको टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
पुस १० गते बसेको नेकपा (एमाले) को सचिवालय बैठकले पूर्वउपाध्यक्ष रावललाई पार्टीको संगठित सदस्यबाट निस्कासन गर्ने निर्णय गरेको थियो ।




















प्रतिक्रिया