प्रभु बैंक लिमिटेड भित्रको गतिविधिमा सांसद देवीप्रकाश भट्टचन समूहले देखाएको प्रत्यक्ष र अप्रत्यक्ष चासोले हाल बैंकिङ क्षेत्रको ध्यान तानेको छ ।
बैंकको आन्तरिक व्यवस्थापन, ऋण प्रणाली र रेमिटेन्स कोषको प्रयोगमा उनीहरूको संलग्नता र प्रभावका कारण विभिन्न गम्भीर प्रश्नहरू उठेका छन् । बैंकिङ जस्तो संवेदनशील क्षेत्रमा भट्टचन समूहको हस्तक्षेपले बैंकको पारदर्शिता, व्यावसायिकता र विश्वासमाथि नकारात्मक असर पुर्याइरहेको स्पष्ट देखिन्छ ।
भट्टचन समूहमाथि बैंकका ऋणहरू र रेमिटेन्स कोषलाई अवैध रूपमा निजी स्वार्थका लागि प्रयोग गरेको आरोप लागेको छ । बैंकको स्रोतलाई व्यक्तिगत फाइदाका लागि प्रयोग गरी ती गतिविधिहरूको पर्दाफास हुने डरले अन्तिम समयमा सार्वजनिक शेयर खरिद गरिएको चर्चा व्यापक छ । यसले बैंकको व्यवस्थापनमा रहेको अनियमितता र अपारदर्शी प्रक्रियाको संकेत गरेको छ ।
के यो सार्वजनिक शेयर खरिद बैंकलाई आफ्नो नियन्त्रणमा राखेर विगतका बदमासी ढाकछोप गर्ने प्रयास हो ? यो प्रश्न अहिले बैंकिङ क्षेत्र र सेवाग्राहीहरूको बीचमा गहिरो चासोको विषय बनेको छ ।
यस्ता घटनाले स्पष्ट रूपमा देखाएको छ कि बैंकको आन्तरिक मामिलामा बाह्य प्रभावले पारदर्शिता र विश्वसनीयता गुम्न सक्छ । डुप्लिकेट प्रमाणपत्र पेस गरी जागिर खाएका कर्मचारीहरूको छानबिन, अयोग्य कर्मचारीहरूको पदोन्नति र बैंकको स्रोतको दुरुपयोगजस्ता घटनाहरूले बैंकलाई कमजोर बनाइरहेको छ । कर्मचारी नियमावलीको उल्लंघन गर्दै अयोग्य र अनुभवहीन व्यक्तिहरूलाई अफिसर र म्यानेजर जस्ता महत्वपूर्ण पदमा राख्दा बैंकको सञ्चालनमा गम्भीर असर पर्नुका साथै जोखिम पनि बढिरहेको प्रष्ट छ ।
बैंक तथा वित्तीय सँस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंकले यस्ता गम्भीर आरोपहरूको छानबिन गरी दोषीलाई कारबाही गर्न ढिलाइ गर्न नहुने हो । तर सत्ता र शक्तिका आडमा राष्ट्र बैंक पनि निरीह बनेको छ ।
बैंकिङ प्रणालीलाई मजबुत बनाउन नियमनकारी निकायहरूको भूमिका स्पष्ट हुन अतिआवश्यक छ । विशेष गरी, ऋण व्यवस्थापन र रेमिटेन्स जस्तो संवेदनशील कोषको अवैध प्रयोगमा दोषी ठहरिनेहरूलाई कानूनी दायरामा ल्याउन र पारदर्शिता सुनिश्चित गर्नका लागि गहिरो छानबिन आवश्यक देखिन्छ ।
प्रभु बैंक लिमिटेड अर्थात् सार्वजनिक सँस्थामा देखिएको भट्टचन समूहको चासोलेले बैंक मात्र नभइ समग्र बैंकिङ प्रणालीकै स्थायित्व र विश्वसनीयतामाथि प्रश्न उठाएको छ ।
नेपाल राष्ट्र बैंक र सम्बन्धित नियामक निकायहरूले यस्ता घटनाहरूको छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न आवश्यक भएको नेपाल राष्ट्र बैँककै कर्मचारी बताउँछन् ।
बैंकमा भट्टचनको चासो र बोर्डमा आफ्ना समुहकै स्वामित्व खोज्नुले स्पष्ट देखिएको छ कि बैंकिङ क्षेत्रलाई अनियमितता र व्यक्तिगत स्वार्थबाट जोगाउन पारदर्शिता, व्यावसायिकता र उत्तरदायित्वलाई उच्च प्राथमिकता दिनुपर्ने समय आएको छ ।
प्रभु बैंकसँग सम्बन्धित भट्टचनका संकाश्पद गतिविधिहरूको पर्दाफास र नियामक निकायको न्यायोचित हस्तक्षेपले मात्र सेवाग्राही तथा लगानीकर्ताहरूको विश्वास पुनःस्थापना हुने जानकारहरु बताउँछन् ।
बैंकको २३ औँ साधारण सभाबाट ६ जना संचालक निर्वाचित हुँदैछन् । त्यसमा पनि भट्टचन समूहले बैंक व्यवस्थापनमाथिनै हस्तक्षेप गरेर बेनामी प्रोक्सी संकलन गरी सोही आधारमा आफ्ना आफन्त र प्रभु समूहका व्यक्तिलाई संचालक नियुक्त गर्ने षडयन्त्र गरिरहेको स्रोतको भनाइ छ ।




















प्रतिक्रिया