Logo

राजनीति

देशमा पाँचै वर्ष सरकार चलाउन स्थिर प्रधानमन्त्रीको खाँचो छ : महामन्त्री शर्मा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशमा पाँच वर्ष सरकार चलाउन स्थिर प्रधानमन्त्रीको खाँचो रहेको बताएका छन् ।

पूर्वकर्मचारी समाज नेपालले मंगलबार काठमाडौँमा आयोजना गरेको स्मारिका विमोचन कार्यक्रममा शर्माले यस्ताे बताएका हुन् ।

उनले संसद्को पाँच वर्षे कार्यकालमा पाँचै वर्ष सरकारको नेतृत्व गर्ने स्थिर प्रधानमन्त्रीको खाँचो रहेको बताए । संविधान संशोधन गर्दा उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष बनाउनु ठुलो कुरा नभएको भन्दै शर्माले कुनै पनि प्रधानमन्त्रीले पाँच वर्ष निरन्तर शासन चलाउने व्यवस्थाको खोजी गर्नुपर्ने बताए ।

सबै विकास भइसकेको जसरी राति काम नै नहुने झैँ सूर्य अस्त, नेपाल मस्त हुनु नहुने उनको टिप्पणी थियो । उनले जन्ममितिले नयाँ राजनीतिक दलहरू नभई प्रवृत्तिबाट राजनीतिक दलहरू आवश्यक रहेको बताउनु भयो । पूर्वाधारको निर्माणमा भइरहेको ढिलाइको गहन अध्ययन जरुरी रहेको बताए ।

उनले भने, ‘बजेट बन्ने बेला आउँदैछ, सम्माननीय प्रधानमन्त्रीज्यूलाई आग्रह छ, बजेटको नीति ल्याउँदै गर्दा बजेटको नीति र प्राथमिकता चाँडै सरकारले ल्याउँदैछ । तीन सिफ्टमा काम गर्ने गरी सरकारले लिएर आओस् । कमरेड केपी ओलीले यसको श्रेय लिनुस् । धनी देश अमेरिका, बेलायत राति पनि बाटो बनाउँछ, गरिव देश नेपाल सूर्य अस्त नेपाल मस्त ? अलिकति पिएर होस् की नपिएर होस् सबै नेपालमा घुरिरहेका हुन्छौँ । हामीलाई हतार नै नभएको जस्तो । सरकारले नीतिमा काम गर्ने कुरा ल्याउनुपर्‍यो । अब समुन्नतिको सन्दर्भमा मेलमिलाप हुनुपर्छ । राजनीतिमा भइसक्यो । संसद् ५ वर्षसम्म अब कुनै बहादुरले भङ्ग गरेर हुँदैन । हामीलाई ५ वर्ष स्थिर रहने संसद् मात्रै होइन, अब पाँच वर्ष स्थिर रहने प्रधानमन्त्री पनि चाहियो । अबको मेलमिलापको बहस त्यहाँ हुनुपर्छ । संविधान संशोधनको ढोका खोल्दै गर्दा उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने ठुलो कुरा होइन ।’

प्रकाशित मिति : १६ पुष २०८१, मंगलवार १६:३६   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।