धनगढी । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कैलालीको गेटा मेडिकल कलेजमा आगामी असारदेखि एमबीबीएसको पढाइ सुरु गर्न सकिने बताएका छन् ।
मंगलबार गेटा मेडिकल कलेजमा निर्माण गरिएका भौतिक संरचनाको स्थलगत निरीक्षण गर्ने क्रममा उनले चालु आर्थिक वर्षभित्रै ३०० शैय्याको अस्पताल सञ्चालन गरी आउँदो असारदेखि नै एमबीबीएसको पढाइ गर्न सकिने बताएका हुन् ।
‘पछिल्लो समय सिंहदरबार पछि ठूलो लगानीमा गेटामा पूर्वाधार निर्माण भएका छन् । ७ अर्बका पूर्वाधार बनेपनि ती खाली छन् । त्यसैले चालु आर्थिक वर्षमा तीनसय शैयाको अस्पताल बनाएर आउँदो आर्थिक वर्षदेखि एमबीबीएसको पढाइ सुरू गर्न सकिन्छ,’उनले भने ।
चिकित्सा शिक्षाको अध्यापनका लागि ३०० शैय्याको अस्पताल सञ्चालन भएको कम्तीमा तीन वर्ष पुगेको हुनुपर्छ । तर, मन्त्री पौडेलले भने विशेष निर्णय गराएर भएपनि गेटामा एमबीबीएस पढाइ सुरु गर्न सकिने आश्वासन दिए ।
‘सुदूरपश्चिम बाहेकका ६ प्रदेशमा एमबीबीएसको पढाइ सुरु भइसकेको छ । यहाँ चिकित्सा शिक्षा आयोगले विशेष परिस्थिति भन्दै ३०० शैय्याको अस्पताल बन्ने वित्तिकै एमबीबीएसको पढाइ गर्न सकिने विशेष निर्णय गर्नसक्छ,’ उनले भने, ‘मेरो प्रयास त्यसतर्फ रहेको छ ।’
कांग्रेस सभापति शेरबहादुर देउवाले पनि आफू मन्त्री हुने बितिकै बोलाएर गेटामा अस्पताल र चिकित्सा शिक्षाको अध्यापनका लागि काम गर्नु भनेर निर्देशन दिएको समेत पौडेलले स्मरण गरेका छन् ।




















प्रतिक्रिया