Logo

प्रमुख समाचार

कांग्रेस क्रियाशील सदस्यता नवीकरण : ‘डिजिटल सम्भव नभएपछि केन्द्रबाटै प्रिन्ट गरेर पठाइयो सदस्यता कार्ड र फारम



काठमाडाैं । महाधिवेशनका लागि पहिलो सर्त मानिएको क्रियाशील सदस्यता नवीकरणको अलमल चिर्न कांग्रेसले पहिलोपटक कार्यतालिकासहित काम थालेको छ । तर, ‘डिजिटल सदस्यता’ सम्भव नभएपछि केन्द्रबाटै सदस्यता कार्ड र फारम प्रिन्ट गरेर तल्लो तहमा पठाइएको छ ।

महामन्त्री गगन थापा संयोजकत्वको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले १५ माघभित्रमा नवीकरण फारम र क्रियाशील सदस्यको विवरण तल्लो तहसम्म पुर्‍याउने र २९ चैतभित्र जिल्लाबाट अन्तिम टुंगो लगाएर केन्द्रमा पठाउने कार्यतालिका बनाएको छ ।

कार्यतालिकाअनुसार १ फागुनसम्म वडाबाट टुंगो लगाइने, १० फागुनसम्म पालिकाबाट टुंगो लगाइने, २० फागुनसम्म प्रदेश सभा क्षेत्रीय समितिबाट टुंग्याइने, २९ फागुनसम्म एक मात्र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति रहेको जिल्लाबाट टुंगो लगाइने र १५ चैतसम्म एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिबाट टुंगो लगाउनुपर्नेछ । सदस्यता नवीकरणमा ढिलाइ भएको भन्दै कांग्रेसको इतर समूहले असन्तुष्टि जनाउँदै आएको छ ।

समिति सदस्य प्रकाश रसाइली स्नेहीका अनुसार एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएको जिल्लाले १२ माघभित्र अनिवार्य रूपमा सदस्यता फारम र नामावलीको विवरण तल्लो तहमा पुर्‍याइसक्नुपर्नेछ । त्यस्तै एक मात्र प्रतिनिधिसभा क्षेत्र भएको जिल्लाले भने १३ माघभित्रमा सदस्यता फारम र विवरण तल्लो तहसम्ममा पुर्‍याइसक्नुपर्नेछ ।

कार्यतालिकाअनुसार १ फागुनभित्र वडाले क्रियाशील सदस्यता नवीकरण सकेर पालिका कार्यसमितिमा विवरण र नवीकरण शुल्क बुझाइसक्नुपर्नेछ । पालिकाले १० फागुनभित्र वडाबाट प्राप्त नवीकरणमाथि आवश्यक निर्णय र सिफारिस गरी प्रदेश सभा क्षेत्रीय कार्यसमितिलाई बुझाउनुपर्नेछ । प्रदेश सभा क्षेत्रीय समितिले २० फागुनभित्र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई बुझाइसक्नुपर्नेछ । प्रतिनिधिसभा क्षेत्रीय समितिले १५ चैतभित्र जिल्ला कार्यसमितिमा अनिवार्य बुझाइसक्नुपर्नेछ ।

प्रकाशित मिति : ६ माघ २०८१, आईतवार ०८:३०   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।