Logo

प्रमुख समाचार

कांग्रेसमा १५ औं महाधिवेशनको चर्चा चुलिदै : उत्तराधिकारी छनौटको विषयले अप्ठेरोमा देउवा



काठमाडौं । नेपालकै पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसभित्र १५ औं महाधिवेशनको बिषय पेचिलो बन्ने संकेत देखिएको छ ।

संवैधानिक व्यवस्थाअनुसार २०८२ साल कार्तिक महिनाभित्र गरिसक्नुपर्ने पर्ने भए पनि संस्थापन पक्षको अनिच्छाका कारण समयमै महाधिवेशन हुनेमा आशंका उत्पन्न गराएको छ । यो अवस्थामा संस्थापन इतर समूह कसरी अघि बढ्छ यो सबैको चासोको बिषय बनेको छ ।

हालै मात्र सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापति विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदार, प्रकाशमान सिंह, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र डा. शंशाक कोइरालासहित पूर्वसहमहामन्त्री एवं प्रवक्ता डा. प्रकाशसरण महत, नेताहरू बालकृष्ण खाण, एनपी साउद र सहमहामन्त्री उमाकान्त चौधरीसहित नेताहरूको बैठकले आन्तरिक रूपमा महाधिवेशनको मितिलाई पर धकेल्ने निर्णय गरिसकेका छन् ।

बैठकपछि नेताहरूले काँग्रेस महाधिवेशन २०८२ मंसिरमा सम्भव नभएकोले वर्तमान केन्द्रिय समितिको म्याद एक वर्ष थपिने बताउनुको कारण त्यही नै हो । नेकपा एमाले र नेपाली कांग्रेसबीच सत्ता सहयात्राका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने सहमति र अर्कातिर संस्थापन पक्षमा भावी सभापतिका लागि चलिरहेको तीव्र प्रतिस्पर्धाले पनि समयमै महाधिवेशन गराउन संस्थापन पक्षलाई अप्ठेरो छ ।

त्यसकारण पनि उनीहरू विधानले दिएको सुबिधालाई प्रयोग गरेर वर्तमान कार्यसमितिको म्याद एक वर्ष छ महिना थप्ने गृहकार्यमा लागि छन् । नेपाली कांग्रेसको विधानअनुसार वर्तमान सभापति शेरबहादुर देउवा आगामी महाधिबेशनमा सभापति पदमा उम्मेदवार हुन पाउँदैनन् ।

दुई कार्यकाल भन्दा बढी सभापति हुन नपाउने बिधानको ब्यबस्थाका कारण संस्थापन पक्षले देउवाको उत्तराधिकारी खोज्नै पर्ने बाध्यता छ । यो अवस्थामा सभापति देउवाले आफुलाई उत्तराधिकारी तोकिदिए हुन्थ्यो भन्ने चाहना सो समूहबाट सभापतिको दावी गरिरहेका नेताहरुको छ ।

सो समूहमा पूर्व उपसभापति गोपालमान श्रेष्ठदेखि बर्तमान उपसभापति पूर्ण बहादुर खड्का, शशांक कोइराला, कृष्ण प्रसाद सिटौला सम्मको दावेदारी छ । तर, भावि राजनीतिमा सभापति देउवाकी पत्नी एवं परराष्ट्रमन्त्री आरजु राणा देउवाको महत्त्वपूर्ण भूमिका रहनेछ ।

परराष्ट्रमन्त्री देउवाको राजनीतिक भविष्यको सुनिश्चिताले नै सभापति देउवाले सहयोग गर्ने समूहको निर्णय चर्चा कांग्रेस बृत्तमा छ । सभापति देउवा पार्टीको नेतृत्व छोड्दै गर्दा आफ्नो राजनीतिक भूमिका सुनिश्चित गरेर मात्र नेतृत्व हस्तारण गर्ने मानसिकताले पनि महाधिवेशनलाई अनिश्चयको भूमरीमा पारेको बुझाई एकथरी नेताहरुको चर्चा छ ।

नेपाली कांग्रेसको १५ औं महाधिवेशन समयभित्र गर्न गरिएन भने पार्टीको गतिविधि, निर्वाचनमा पार्टीको प्राथमिक एजेन्डा र पार्टीको अवस्थाको साथै वैधानिकतामा समेत प्रश्न खडा हुने उनीहरू बताउँछन् ।

संस्थापन समूहमा सभापति पदमा आकांक्षी धेरै हुँदा यता संस्थापन इतर समूहमा भने डा शेखर कोइराला एक्लो घोडा जस्ता देखिएका खबर रहस्यमा उल्लेख छ । गगन थापालाई पनि सभापतिको दावीदारका रूपमा हेरिए पनि उनी अहिले कुन पक्षका हुन् कांग्रेसीजनहरुलाई छुट्टाउन गाहो छायो स्थिति वरिष्ठ नेता डा. शेखर कोइरालाको लागि भने एक अवसरको रूपमा देखा परेको छ ।

चौधौं महाधिवेशनमा डा. कोइरालाको प्रतिस्पर्धा कमजोर रहेको थियो । उनलाई आफ्नै समूहका भनिएका वरिष्ठ नेताहरूले समेत साथ दिएका थिएनन् । तैपनि उनको सक्रियताले ४० प्रतिशत मत आउनु चानचुने होइन । यो उनका लागि एउटा राजनीतिक छलाङ्ग थियो जसले गर्दा १५ औं महाधिवेशनमा उनी एक्लो बलियो उमेदवार बन्न सफल हुने देखिन्छन् ।

प्रायः सबै नेता तथा कार्यकर्ताले डा. शेखर कोइरालालाई भावी सभापतिका रूपमा हेर्न थालेका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलवार ०९:०४   :  बजे

957
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।