Logo

खेलकुद

खेलकुदमन्त्री चौधरीलाई कार्यकर्ताबाटै कालो झण्डा



काठमाडौं । गत असार १७ गतेको ७ बुँदे सहमतिअनुसार केपी ओलीले असार ३१ गते युवा तथा खेलकुदमन्त्रीको रूपमा कांग्रेसका तेजुलाल चौधरीले पनि शपथ लिएका थिए ।

आठ महिनाभन्दा बढी समय भइसक्दा पनि युवा तथा खेलकुदमन्त्री चौधरीले मन्त्रालयबाट गर्नुपर्ने काममा पार्टीभित्रै समन्वय नगरेको र अधिकांश ठाउँमा ‘चौधरी’ थरकालाई मात्रै नेतृत्व दिने र नियुक्त गर्ने गरेको भन्दै उनको आलोचना भइरहेको छ।

उनले गरेका नियुक्तिहरू अदालतबाट उल्टिरहेका छन् भने नेपाली खेलकदको सर्वोच्च निकायको रूपमा रहेको राष्ट्रिय खेलकुद परिषद् राखेपको उपाध्यक्ष पदमा पनि चौधरी थरकै अडानमा रहँदा एमालेले हात पारेको छ । पटक-पटक मन्त्री तेजुलाललाई भेटेर उनकै पार्टीको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघले समन्वय गरेर मात्रै नियुक्ति गर्न ध्यानाकर्षण गरेको थियो ।

तर, उनले पार्टी सभापतिको पनि कुरा सुनेनन् । उनले समयमै निर्णय गर्न नसक्दा केपी ओलीले मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष ध्रुव आचार्यलाई राखेपको उपाध्यक्ष बनाए ।
यसैगरी राखेपका सदस्यहरू नियुक्त गर्दा पनि लोकतान्त्रिक खेलकद संघको सिफारिस कार्यान्वयन नभएपछि अहिले मन्त्रीविरुद्ध संघ खसेर लागेको छ ।

यसै सिलसिलामा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीविरुद्ध कांग्रेस पार्टी कार्यालयमै विरोध प्रदर्शन गरेको हो । नेपाली कांग्रेसको खेलकद विभागद्वारा आयोजित कार्यक्रममा सहभागी हुन सानेपा पुगेका मन्त्री चौधरीलाई पार्टीकै कार्यकर्ताले कालो झन्डा देखाउँदै नाराबाजी गरेका थिए ।

पार्टी केन्द्रीय कार्यालयको मुख्य प्रवेशद्वारभित्रै उग्र नारावाजी हुन थालेपछि सचिवालयले तत्काल सुरक्षाकर्मी परिचालन गरी प्रदर्शनकारीलाई हटाउन बाध्य भएको थियो । मन्त्री चौधरीविरुद्ध नेपाली कांग्रेसको कान्छो भातृ संख्या लोकतान्त्रिक खेलकुद संघले प्रत्यक्ष रूपमा आक्रोश प्रकट गरेको हो ।

अध्यक्ष देवेन्द्र शेरचनकै उपस्थितिमा मन्त्रीलाई कालो झन्डा देखाएर तीव्र असन्तोष व्यक्त गरिएको खबर देशान्तरमा उल्लेख छ । शेरचनले पटक-पटक ध्यानाकर्षण गराउंदै ज्ञापनपत्र समेत बुझाए तापनि मागहरूको सुनुवाइ नभएपछि यस्तो कठोर कदम चाल्नुपरेको बताएका छन् ।

अहिलेका मन्त्रीले जथाभावी र अपरिपक्व निर्णय गरेको बताउँदै त्यसका लागि लोकतान्त्रिक खेलकुद संघले खबरदारी गरेको पनि बताए । उनले आफ्ना निर्णय नसच्याए देशव्यापी आन्दोलन भड़िकने र खेलकुद गतिविधिहरू बहिष्कार गरिने चेतावनीसमेत दिए ।

नेपाल ओलम्पिक कमिटीको विषयमा समेत मन्त्री चौधरीले अनावश्यक हस्तक्षेप गर्न खोजेको दावी गर्दै उनले यसको विरुद्धमा समेत खेल संघहरू उत्रिने चेतावनी दिए । पार्टी कार्यालयमै भएको घटनाबारे नेपाली कांग्रेसले भने आधिकारिक रूपमा केही पनि सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : १० चैत्र २०८१, आईतवार २२:४६   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।