काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूको चुक्ता पुँजी एक वर्षको अवधिमा सात अर्बभन्दा बढीले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८० चैत मसान्तमा सञ्चालित ५४ वटा बैंक तथा वित्तीय संस्थाहरूको कुल चुक्ता पुँजी चार खर्ब ३६ अर्ब ४० करोड रुपैयाँ थियो, जुन २०८१ चैत मसान्तसम्ममा बढेर चार खर्ब ४३ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ।
वाणिज्य बैंक अग्रणी
देशभर सञ्चालित २० वटा वाणिज्य बैंकहरूको चुक्ता पुँजी एक वर्षमा रू. ६ अर्ब ३० करोडले वृद्धि भई रू. ३८५ अर्ब ३२ करोड पुगेको छ। अघिल्लो वर्षको अन्त्यमा यो रकम रू. ३७९ अर्ब थियो। राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी (रू. ८ अर्ब) भन्दा सबै वाणिज्य बैंकको पुँजी धेरै छ, जसले ती संस्थाहरूको वित्तीय स्वास्थ्य मजबुत रहेको संकेत गर्छ।
वाणिज्य बैंकहरू मध्ये ग्लोबल आइएमई बैंक अग्रस्थानमा छ, जसको चुक्ता पुँजी २०८१ चैतमा रू. ३८ अर्ब ११ करोड पुगेको छ। त्यसपछि नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रू. ३४ अर्ब १२ करोडको पुँजीसहित दोस्रो स्थानमा छ।
विकास बैंक र फाइनान्स संस्थाहरूको स्थिति
विकास बैंकहरूको चुक्ता पुँजी पनि रू. ८८ करोडले बढेर २०८१ चैतमा रू. ४३ अर्ब पुगेको छ। यस श्रेणीमा मुक्तिनाथ विकास बैंक सबैभन्दा अगाडि छ, जसको चुक्ता पुँजी रू. ७ अर्ब ४ करोड पुगेको छ।
त्यस्तै, फाइनान्स कम्पनीहरूको पुँजी पनि सामान्यरूपमा वृद्धि भएको छ। २०८० चैतमा रू. १५ अर्ब २१ करोड रहेको पुँजी २०८१ चैतमा रू. १५ अर्ब २७ करोड पुगेको छ। यसमा मञ्जुश्री फाइनान्स सबैभन्दा अगाडि रहेको छ, जसले एक अर्ब ३५ करोडको पुँजी कायम गरेको छ।
वित्तीय क्षेत्र सुदृढ हुँदै
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको न्यूनतम चुक्ता पुँजीको सीमा तोकेको छ। त्यसअनुसार वाणिज्य बैंकका लागि ८ अर्ब, विकास बैंकका लागि २ अर्ब र फाइनान्स कम्पनीका लागि ८० करोडको न्यूनतम सीमा छ। सबै संस्थाहरूले यो मापदण्ड पार गरिसकेका छन्, केहीले त यसभन्दा धेरै बढी पुँजी पनि संकलन गरेका छन्।
यसले नेपालको बैंकिङ तथा वित्तीय प्रणाली सुदृढ बन्दै गएको देखाउँछ। पुँजीमा भएको वृद्धिले ऋण विस्तार, जोखिम व्यवस्थापन र लगानी क्षमतामा सुधार ल्याउने अपेक्षा गरिएको छ।




















प्रतिक्रिया