Logo

प्रमुख समाचार

थाइल्याण्डका स्वास्थ्यकर्मी र स्वास्थ्य मन्त्री पौडेलबिच अन्तर्क्रिया



काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले थाइल्याण्डमा क्रियाशील स्वास्थ्य नीति निर्माता, बौद्धिक तथा अध्ययनरत मेडिकल विद्यार्थीसँग नेपालको स्वास्थ्य क्षेत्रमा थाइल्याण्डको अनुभवबाट गर्न सकिने सुधारबारे अन्तर्क्रिया थालेका छन् ।

जनसङ्ख्या नीति सम्बद्ध संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय बैठकमा सहभागीताका लागि बैंकक आइपुगेका मन्त्री पौडेलले त्यहाँका नेपालीसँग विचार विमर्श थालेका हुन् ।

नेपाली राजदूतावासको आयोजनामा बैंककमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले थाइल्याण्डको स्वास्थ्य उपचार प्रणाली, मेडिकल शिक्षा तथा स्वास्थ्य बीमाका बारेमा थाइल्याण्डको अनुभवबारे नेपाली समुदायसँग सुझाव सङ्कलन गरेका हुन् ।

मन्त्री पौडेलले अहिले मन्त्रालयले स्वास्थ्य उपचार सेवा सुधार तथा विस्तारसँगै स्वास्थ्य बीमामा नीतिगत सुधारसम्बन्धी निर्णय गरेर कार्यान्वयनतर्फ अघि बढिरहेको भन्दै दुवै देशको परिस्थितिबारे जानकार नेपालीहरूबाट प्राप्त अनुभव आगामी दिनमा थप उपयोगी हुने विश्वास गरे ।

हामी अहिलेकै श्रोतमा सुधार गरेर नागरिकलाई बढी सेवा दिन प्रयत्नशील छौँ, मन्त्री पौडेलले भने, तपाईँहरूको अनुभव हाम्रा लागि उपयोगी बन्न सक्छ ।

नेपाली राजदूत धनप्रसाद ओलीले थाइल्याण्डमा चिकित्सा उच्च शिक्षा, चिकित्सा अभ्यास तथा नीति निर्माणसँगै व्यवसायमा संलग्न रहेको भन्दै उनीहरूको अनुभव आदानप्रदानले आगामी दिनमा थप सम्भावना र सहकार्यको मार्ग प्रशस्त गर्ने बताए ।

अन्तर्क्रियामा सहभागी स्वास्थ्य सेवा प्रदायक एप निर्माणमा संलग्न नेपालीहरूले आफ्नो सेवा स्वदेशमा विस्तारमा तयार रहेको बताए । साथै, सहभागी स्वास्थ्य बीमाका जानकारहरूले थाइल्याण्डको अभ्यासबारे जानकारी गराएका थिए ।

मन्त्री पौडेलले संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय बैठकमा नेपालका तर्फबाट सम्बोधन तथा छलफलमा सहभागिता जनाउनेछन् । मन्त्री पौडेलले गैरआवासीय नेपालीहरूसँग समेत अन्तर्क्रिया गर्ने उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार ०७:००   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।