Logo

प्रमुख समाचार

उज्यालो नायक कुलमान घिसिङ खाडी मुलुक जाँदै



काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको नेतृत्वबाट केही महिनाअघि हटाइएका कुलमान घिसिङले खाडी मुलुकहरूको भ्रमण गरेर त्यहाँ कार्यरत नेपालीहरूको जीवन, संघर्ष र सपना बुझ्न प्रयास गर्ने भएका छन् ।

मंगलबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उनले बहराइन, ओमान, युएई र कतारमा रहेका नेपालीहरूको जीवन, संघर्ष र सपना बुझ्ने तथा आफ्ना अनुभवहरू साटासाट गर्ने प्रयासस्वरूप आफू भ्रमणमा निस्किएको जानकारी गराएका हुन् ।

‘विदेशी भूमिमा पसिना बगाउँदै देशको सपना बोकेर बस्नुभएको तपाईंहरुलाई म टाढाबाट होइन, नजिकबाट सम्झन आउँदै छु’, उनले फेसबुकमा भनेका छन्, ‘मैले बहराइनमा जुलाई २ देखि ४, युएईमा जुलाई ५ देखि ८, ओमानमा जुलाई ९ देखि १० र कतारमा जुलाई ११ देखि १३ सम्म तपाईसँग भेटघाट गर्दैछु ।’

उनले नेपालीहरूको दुःख, आत्मबल र योगदानको मूल्य शब्दले भन्न नसकिने उल्लेख गर्दै भनेका छन्, ‘म तपाईंहरूसँग प्रत्यक्ष भेटेर भोगाइ सुन्‍न, अनुभूति साझा गर्न र भावनात्मक रूपमा जोडिन चाहन्छु ।

तपाईंहरूले जे सहनु भएको छ, त्यसमा हामी सबैको जिम्मेवारी छ भन्ने भावनासहित तपाईंहरू सामु आउँदैछु ।’ उनले भ्रमणबारे अरु थप विषय भने खुलाएका छैनन् ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार ०७:०१   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।