Logo

अर्थ

बूढीगण्डकीका सीईओ रजौरियाले लिए शपथ, ऊर्जामन्त्री खड्काले दिए यस्तो निर्देशन



काठमाडौं । बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) इञ्जिनियर अरुण रजौरियाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा शुक्रबार आयोजित एक औपचारिक समारोहमा कम्पनीका अध्यक्ष तथा ऊर्जा सचिव सुरेश आचार्यले रजौरियालाई ऊर्जामन्त्री दीपक खड्काको उपस्थितिमा शपथ ग्रहण गराएका हुन् ।

समारोहमा ऊर्जामन्त्री खड्काले नवनियुक्त सीईओ रजौरियालाई बधाई दिँदै बूढीगण्डकीजस्तो बृहत् र रणनीतिक राष्ट्रिय आयोजना कार्यान्वयनको चरणमा प्रवेश गर्ने मोडमा बताए ।

अब स्पष्ट कार्ययोजनासहित गुणस्तरीय प्रगति देखिने गरी अघि बढ्न निर्देशन दिए ।

मन्त्री खड्काले आयोजनामा पारदर्शिता, दक्षता र समयपालनाको सुनिश्चितता आवश्यक रहेको उल्लेख गर्दै, रजौरियाको तीन दशक लामो व्यावसायिक अनुभवले आयोजनालाई गति दिने विश्वास व्यक्त गरे ।

साथै, आयोजनालाई सार्वजनिक–निजी साझेदारी मोडलमा अगाडि बढाउने विषयमा नीतिगत स्पष्टता र लगानी सुरक्षाको वातावरण सिर्जना गर्नु नेतृत्वको पहिलो प्राथमिकता हुनुपर्नेमा पनि उनले जोड दिए ।

ऊर्जामन्त्री खड्काले भने, “झन्डै १२०० मेगावाट क्षमताको यो बृहत् बहुउद्देश्यीय आयोजनाबाट विद्युत् उत्पादनसँगै सिँचाइ, बाढी नियन्त्रण, पर्यटन र रोजगारी सिर्जनामा समेत योगदान हुने अपेक्षा गरिएको छ ।

यस्तो राष्ट्रिय महत्त्वको आयोजनामा समयमै लक्ष्य र उद्देश्य हासिल गरी मुलुक र जनताले प्रत्यक्ष लाभ लिन सक्ने वातावरण तयार गर्नु प्रमुख कार्यकारीको दायित्व हो ।”

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार २०:२०   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।