Logo

प्रमुख समाचार

नेपाल भारतको प्राथमिकतामा रहेको साझेदार: भारतीय विदेश मन्त्रालय



काठमाडौं । नेपालको दुईदिने भ्रमण सम्पन्न गरी भारतीय विदेशसचिव विक्रम मिश्री सोमबार स्वदेश फर्केका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तयारीस्वरुप उनी आइतबार काठमाडौं आएका थिए ।

विदेशसचिव स्वदेश फर्केलगत्तै भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपाल भारतको प्राथमिकतामा रहेको साझेदार भएको बताएको छ ।

“नेपाल भारतको छिमेकी पहिलो नीतिअन्तर्गत प्राथमिकतामा रहेको साझेदार हो,” विदेश मन्त्रालयले विज्ञप्तिमा भनेको छ, “विदेशसचिवको भ्रमणले दुई देशबीच नियमित उच्च–स्तरीय भ्रमणको आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै हाम्रो द्विपक्षीय सम्बन्धलाई अझ अगाडि बढाउन मद्दत गरेको छ ।”

परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा विदेशसचिव मिश्री नेपाल आएका थिए । नेपाल भ्रमणमा रहँदा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

“उहाँले उनीहरूलाई भारतको नेतृत्वले पठाएको शुभकामना सुनाउनुभयो र दुई देशबीच पारस्परिक रूपमा लाभदायक द्विपक्षीय सहयोगका विभिन्न पक्षहरूमा भइरहेको प्रगतिको बारेमा जानकारी गराउनुभयो,” भारतको विदेश मन्त्रालयले भनेको छ ।

विदेशसचिव मिश्रीले प्रधानमन्त्री ओलीसँगको भेटमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणको लागि पठाएको निमन्त्रणा पत्र ओलीलाई हस्तान्तरण गरेको विदेश मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार २१:२९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।