काठमाडौं । मारुती सुजुकीको पहिलो विद्युतीय मोडल ई–भिटारा नेपाल आइपुगेको छ । नेपालका लागि सुजुकीको आधिकारिक वितरक सिजी मोटोकर्पले आगामी नाडा अटो शोमा सोकेस गर्नको लागि ई–भिटारा नेपाली बजारमा ल्याएको हो ।
मारुती सुजुकीले आफ्नो पहिलो विद्युतीय कार मोडल ई–भिटारा गत जनवरीमा भएको भारत मोबिलिटी एक्स्पो २०२५ मा सार्वजनिक गरेको थियो । ई–भिटारामा एलएफपी ब्लेड ब्याट्री प्रयोग गरिएको छ । सुजुकी ई–भिटारा ४९ किलोवाट आवर र ६१ किलोवाट आवरको दुई ब्याट्री अप्सनमा आउनेछ ।
सुजुकी ई–भिटाराले एक पटकको फुल चार्जमा ५ सय किलोमिटर रेन्ज दिने दाबी गरिएको छ। यो फ्रन्ट ह्वील ड्राइभ अप्सनमा १०६, १२८ र १३५ किलोवाटको तीन मोटर अप्सनमा उपलब्ध छ । ई–भिटाराको लम्बाई ४२७५ एमएम, चौडाइ १८०० एमएम र उचाइ १६३५ एमएम छ। ई–भिटाराको क्याबिनमा ड्युअल स्क्रिनका साथ नयाँ अपरेटिङ सिस्टम वा युजर इन्टरफेस दिइएको छ ।
गाडीकाे पछिल्लो भागमा स्प्लिट फोल्डिङ सिट, एड्जस्टेबल हेडरेस्ट र सबै यात्रीका लागि थ्री–पोइन्ट सिटबेल्ट र आइसोफिक्स चाइल्ड सिट माउन्टलगायत सुविधा उपलब्ध हुनेछन् ।
गाडीमा अटो होल्डका साथ इलेक्ट्रोनिक पार्किङ ब्रेक, अल ह्विल ड्राइभ भर्सनका लागि ‘ट्रेल’सहित ड्राइभ मोड, हिल डिसेन्ट कन्ट्रोल, सिंगल जोन अटो क्लाइमेट कन्ट्रोल, वायरलेस फोन चार्जर, साइड र कर्टेन एयरब्याग, हिटेड मिरर र एडासजस्ता सेफ्टी फिचर रहेका छन् ।
लेन किप असिस्ट, एडाप्टिभ क्रुज कन्ट्रोल, ७ एयरब्याग, ब्लाइण्ड स्पट मनिटरिङ सिस्टम, टायर पेसर मोनिटर, ३६० डिग्री क्यामरा, फ्रन्ट र रियर पार्किङ सेन्सर उपलब्ध छ ।
भारतमा यसको अनुमानित मूल्य २५–३० लाख भारतीय रुपैयाँ छ भने नेपालमा करसहित करिब ६५–७५ लाख रुपैयाँको दायरामा मूल्य पर्न सक्ने अनुमान गरिएको छ । तर कम्पनीले यसको वास्तविक मूल्य भने सार्वजनिक गरेको छैन ।




















प्रतिक्रिया