काठमाडौं । नेपाली कृषि उद्यमलाई संस्थागत सहयोग पुर्याउँदै, संकटमा परेका कृषिमा आधारित उद्योग व्यवसायहरूलाई नवजीवन दिने उद्देश्यका साथ ‘एग्रो डेभलपमेन्ट फण्ड लिमिटेड’ नामक कम्पनीको स्थापना गरिएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बीरगंज र काठमाडौंका अग्रणी उद्यमी, व्यवसायी तथा बैंक र बीमा क्षेत्रका विज्ञहरूको साझेदारीमा यो फण्डको तयारी गरिएको हो । कम्पनीको मुख्य प्रवर्धकहरूमा नेक्सजेन म्यानेजमेन्ट समूह, क्वेष्ट फर्मास्युटिकल्स समूह, कृषि उद्यमी शिवजी कलवार समूह, साथै बैंक तथा बीमा विज्ञहरू रहेका छन् ।
५० करोड रुपैयाँ अधिकृत पूँजीमध्ये सुरुवाती रूपमा दश करोड रुपैयाँ चुक्ता पूँजी रहेको फण्ड कम्पनी २०८२ सालको असार महिनामा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भइसकेको कम्पनीले जनाएको छ । हाल प्राइभेट इक्विटी कारोबारको अनुमति लिन आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गरी नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरिसकिएको बताइएको छ।
पाँच सदस्यीय सञ्चालक समितिमा अध्यक्षको जिम्मेवारी रमेश कुमार भट्टराई ले सम्हालेका छन्। अन्य सञ्चालकहरूमा बिजय बहादुर शाह, उमेश लाल श्रेष्ठ, श्रीचन्द्र भट्ट र प्रमोद कुमार साह रहेका छन् । नेपालमा कृषिमा आधारित उद्योगहरूको स्थायित्व कमजोर हुनुको प्रमुख कारण पूँजी अभाव, उच्च बैंक ऋणको बोझ र विशेषज्ञ सेवाको अभाव रहेको मानिन्छ । यही अवस्थालाई ध्यानमा राखी, एग्रो डेभलपमेन्ट फण्डले ईक्विटी लगानी तथा प्राविधिक र व्यवस्थापन परामर्श सेवा प्रदान गर्ने लक्ष्य लिएको छ।
नेपालभर छरिएर रहेको अनुत्पादक पूँजीलाई संकलन गरी कृषिमा आधारित उद्योग व्यवसायमा लगानी गर्न सकिने सम्भावनालाई यस कम्पनीले अवसरको रूपमा हेरिरहेको कम्पनीले जनाएको छ । कम्पनीको सबैभन्दा ठूलो लगानीकर्ता नेक्सजेन म्यानेजमेन्ट एण्ड ईक्विटी सोलुसन्स लिमिटेड रहेको छ, जसको २३.३३ प्रतिशत स्वामित्व रहेको छ।
कृषि क्षेत्रलाई दिगो रूपमा आत्मनिर्भर बनाउन यस्तो प्रकारको इक्विटी फण्डले दीर्घकालीन प्रभाव पार्ने कम्पनीले विश्वास लिएको छ ।




















प्रतिक्रिया