काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारीलाई समाजवादको आधारशिला भएको बताउँदै यसको सशक्त नियमन आवश्यक रहेको धारणा राखेका छन् ।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकभर ३४ हजारभन्दा बढी सहकारी सञ्चालनमा रहेको उल्लेख गर्दै पीडितले न्याय पाउने अवस्थाको सुनिश्चितता गर्न जरुरी रहेको बताएका हुन् ।
उनले सहकारीमा जम्मा गरेको रकम डुबेका पीडितलाई प्राथमिकताका साथ न्याय दिनुपर्नेमा जोड दिए । शर्माले भने, “सहकारी समाजवादको एउटा आधारशिला हो ।
तर पीडितले नै न्याय पाउनुपर्छ । बुटवलकी सीता दर्जीले कमाएर जम्मा गरेको पैसा सुप्रिम सहकारीले डुबायो । सरकारले उनलाई सम्झेको छ कि छैन भन्ने प्रश्न उठ्छ । यो देशमा एउटा सीता पुजिन्छन्, अर्की सीता लुटिन्छन् ।”
उनले सरकारले गठन गरेको आयोगमार्फत सहकारी क्षेत्रका सबै बेथिति अन्त्य हुने विश्वास व्यक्त गरे ।
साथै, शिक्षा क्षेत्रसम्बन्धी विधेयकका विषयमा उनले निजी क्षेत्रलाई निरुत्साहित गर्ने गरी अघि बढ्न नमिल्ने भन्दै संवाद र संशोधनमार्फत मात्रै संसद्बाट पारित गर्नुपर्ने प्रतिबद्धता जनाए ।




















प्रतिक्रिया