काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा निर्माण सम्पन्न गरेको ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजनाले औपचारिक रूपमा व्यावसायिक उत्पादन सुरु गरेको छ । कम्पनीकाअनुसार आयोजनाले २०८२ असार १८ गते निर्माण सम्पन्न गरी १५ दिनको सफल परीक्षण सञ्चालन सकेको थियो ।
परीक्षण चरण सफलतापूर्वक सम्पन्न भएपछि आयोजनाले २०८२ साउन १२ गते देखि नियमित रूपमा राष्ट्रिय प्रसारण प्रणालीमा बिजुली आपूर्ति गर्दै आयोजनाको व्यापारिक उत्पादन थालेको हो । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड ऊर्जाको विकास र सञ्चालन गर्ने उद्देश्यले स्थापना भएको कम्पनी हो ।
यस कम्पनीमा अपि पावर कम्पनी लिमिटेडको बहुमत सेयर लगानी रहेको छ । आयोजनाले ३ चैत्र २०६८ मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता गरेको थियो ।
ऊर्जा मन्त्रालयबाट आवश्यक वातावरणीय प्रारम्भिक अध्ययन (आइईई) २०८१ असोज ८ गते स्वीकृत भएको थियो । ऊर्जा मन्त्रालयको विद्युत् विकास विभागबाट २०७२ असोज २२ गते उत्पादन इजाजत पत्र प्राप्त भएको थियो ।
परियोजनाको इन्टेक करिब १५०० मिटर र पावर हाउस १२८२ मिटरको उचाइमा रहेको छ । पावर हाउसमा जडान गरिएका दुई वटा पेल्टन टर्बाइन युनिटहरू (प्रत्येक ५.५ मेगावाट) बाट कुल ११ मेगावाट उत्पादन हुनेगरी आयोजना डिजाइन गरिएको छ । डाइभर्सन बाँध र सहायक संरचना १०० वर्षको पुनरावृत्तिमा हुने बाढीलाई समेत ध्यानमा राखी डिजाइन गरिएको हो । जसको परिमाण २४७ घनमिटर प्रति सेकेन्ड अनुमान गरिएको छ ।
नुवाकोट जिल्लाको समुन्द्रटार सबस्टेशनमा स्विचयार्डमार्फत जोडिएको आयोजनाबाट उत्पादित बिजुली ६ किलोमिटर लामो ३३ केभी ट्रान्समिशन लाइनमार्फत राष्ट्रिय ग्रिडमा आपूर्ति हुन थालेको छ । यस प्लान्टबाट वार्षिक ६१.३१९ गीगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । यसमध्ये ५०.८९३ गीगावाट घण्टा वर्षायाममा र १० दशमलव ४२५ गीगावाट घण्टा सुख्खा मौसमी अवधिमा उत्पादन हुने अनुमान गरिएको छ ।




















प्रतिक्रिया