Logo

अर्थ

१० बैंकको लेखापरीक्षण बंगलादेशको हाउलदार युनुस एन्ड कम्पनीले गर्ने, समयावधि पाँच महिना



काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न १० वाणिज्य बैंकको विस्तृत सम्पत्ति गुणस्तर (ऋण पोर्टफोलियो) समीक्षा गर्न बंगलादेशको लेखापरीक्षण संस्था हाउलदार युनुस एन्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्ससँग सम्झौता गरेको छ ।

प्राविधिक तथा वित्तीय प्रस्तावहरूको संयुक्त मूल्यांकनमा उच्चतम अंक प्राप्त गरेको हाउलदार युनुससँग ऋणको पोर्टफोलिया समीक्षा गर्न सम्झौता गरेको राष्ट्र बैंकले जनाएको छ । हउलदारले ७१.३४ अंक प्राप्त गरेको छ । पाँच महिनाभित्र १० बैंकको ऋण पोर्टफोलियोको समीक्षा गरेर प्रतिवेदन राष्ट्र बैंकलाई बुझाउने भएको छ ।

हाउलदार युनुसले मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक ६२ लाख ५४ हजार ९१२ रुपैयाँ र दुई लाख ७१ हजार ६७० डलरमा जिम्मा पाएको हो ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले विस्तारित कर्जा सुविधा दिँदा विभिन्न १० वाणिज्य बैंकको विस्तृत सम्पत्ति गुणस्तर परीक्षण गर्नुपर्ने सर्त राखेको थियो । सोही सर्तअनुसार राष्ट्र बैंकले परामर्शदाता कम्पनी छनोट गरेको हो । त्यसबेला आईएमएफले २८ करोड २४ लाख २० हजार अमेरिकी डलर विस्तारित कर्जा सुविधा प्रदान गर्ने क्रममा उक्त सर्त राखेको थियो । उसले विस्तारित कर्जा सुविधाअन्तर्गत पाँच किस्ताको भुक्तानी दिइसकेको छ । आठ करोड ७० लाख ९० हजार डलर विस्तार कर्जा भुक्तानी दिन बाँकी छ ।

विभिन्न १० वाणिज्य बैंकको सम्पत्तिको गुणस्तर कमजोर देखिएपछि लेखापरीक्षण प्रक्रिया अघि बढाएको हो । बैंकको नाम भने खुलाएको छैन । आईएमएफले नेपालका बैंकहरूले कर्जाको इभर ग्रिनिङ गरेको आरोप लगाउँदै आएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार १२:२६   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।