काठमाडौं । बिराटनगर किंग्सले कोशी प्रदेश क्रिकेट संघको सहकार्यमा आयोजना गरेको ड्रिम टू प्ले टि ट्वेन्टी क्रिकेट प्रतियोगिताको अन्तिम दिनका खेलहरू सकिएसँगै अंक तालिकाको शिर्ष स्थानमा रहेर मोरङले उपाधि जितेको छ ।
सिंगल राउण्ड रोबिन लिग फर्म्याटमा खेलाइएको प्रतियोगितामा मोरङले आफ्ना सबै ४ खेलमा स्पष्ट नतिजासहित ८ अंक बटुलेको थियो ।
त्यस्तै झापा, सुनसरी र ईलामले क्रमश ६, ४ र २ दुई अंक बटुलेका थिए भने आफ्ना सबै खेलमा हार बेहोरेको उदयपुर भने अंक तालिकाको पुछारमा रह्यो ।
प्रतियोगितामा कुल ११ विकेट लिएका मोरङका प्रेम कुमार कामत बेस्ट बलर घोषित भए । प्रतियोगिताभर १६ ओभर बलिंग गरेका कामतले २.५० को इकोनोमीमा २ मेडन सहित जम्मा ४० रन खर्चिएका थिए ।
त्यस्तै, १२१.५ को स्ट्राइक रेटमा ४ छक्का र १३ चौकासहित कुल १३० रन बनाएका सुनसरीका आकाश सर्राफ प्रतियोगिताकै उत्कृष्ट ब्याटर घोषित भए । प्लेयर अफ द टुर्नामेन्टको उपाधि भने इलामका लव कामतले पाए । उनले कुल १६ ओभरको बलिंग स्पेलमा ४० रन खर्चिंदै ७ विकेट लिएका थिए । जसमा ६५.४ को स्ट्राइक रेट र २.५० को इकोनोमी रहेको थियो ।
कुल १० खेल भएको प्रतियोगितामा ७२ जना खेलाडीहरू सहभागी भएका थिए । प्रतियोगितामा कुल १३९५ रन बनेका थिए भने जम्मा १६० विकेट खसेका थिए । २२ ओभर मेडन जाँदा ४६ छक्का र ९९ चौका बर्सिएका थिए भने दुईवटा अर्धशतक बनेका थिए ।
गत असोज २४ गतेबाट सुरु भएको प्रतियोगिताको हिजो सम्पन्न अन्तिम दिनको पहिलो खेलमा मोरङले ईलामलाई एक विकेटले पराजित गरेको थियो । सुरुमा ब्याटिंग गर्न उत्रिएको ईलामले सबै विकेट गुमाएर ८६ रनको योगफल तयार पारेको थियो । मोरङले ८७ रनको लक्ष्य एक विकेट बाँकी रहँदै पछ्याउन सफल भयो । ४ ओभरको स्पेलमा १४ रन खर्चिएर ५ विकेट लिएका प्रेम कुमार तामाङ प्लेयर अफ द म्याच चुनिएका थिए ।
त्यस्तै, दिनको दोस्रो खेलमा झापाले सुनसरीलाई ३ विकेटले पराजित गर्यो । सुरूमा ब्याटिङ गर्न उत्रिएको सुनसरीले ९ विकेट गुमाएर केवल १२४ रन बनाएको थियो । प्लेयर अफ द म्याच चुनिएका दीपु भुषालले ३ चौकाको मद्दतले ४६ बलमा ४२ रन बनाएका थिए ।
यस क्रिकेट प्रतियोगितामा कोशी प्रदेशका झापा, मोरंग, सुनसरी, उदयपुर र इलाम गरी ५ जिल्लाका अण्डर २३ टिमहरूले एक आपसमा प्रतिष्पर्धा गरेका थिए । प्रतियोगिता सफलतापुर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै आयोजकले यस मार्फत् उदयीमान खेलाडीहरूका लागि प्रतिभा प्रदर्शन गर्ने र आफ्नो क्रिकेट सपनालाई साकार बनाउने प्लेटफर्म मिलेको बताए ।
प्रतियोगितामा उच्च प्रदर्शन गरेका युवा खेलाडीहरू अब बिराटनगर किंग्सको डेभलपमेन्ट स्क्वाडमा बसेर टिमसँगै अभ्यासमा सहभागी हुनेछन् । यसका साथै उनीहरूले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय अनुभव प्राप्त खेलाडीहरूसँग अभ्यास गर्दै आफ्नो खेल कौशल विकास गर्ने र व्यवसायिक खेल जीवन अगाडी बढाउने विभिन्न अवसरहरू प्राप्त गर्ने छन् ।
डेभलपमेन्ट स्क्वाडमा छानिएका मध्ये एकजना खेलाडीले आसन्न नेपाल प्रिमियर लिग (एनपीएल)मा बिराटनगर किंग्सको मुख्य स्क्वाडमा स्थान बनाउने विशेष अवसर प्राप्त गर्ने छन् ।




















प्रतिक्रिया