Logo

प्रमुख समाचार

बंगालको खाडीमा सक्रिय ‘मोन्था चक्रवात’ नेपाल प्रवेश गर्दै



काठमाडौं । बंगाललको खाडीमा विकसित भएको ‘मोन्था’ नामक सामुद्रिक चक्रवात आगामी दुई दिनभित्र नेपाल प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। चक्रवातको प्रभावले विशेषगरी कोशी र मधेस प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको भन्दै विभागले सतर्क रहन आग्रह गरेको छ।

हाल भारतको विशाखपटनम क्षेत्रमा रहेको मोन्था चक्रवात क्रमश: भारतको भू–भाग हुँदै नेपालतिर प्रवेश गर्ने क्रममा रहेको जल तथा मौसम विभागका वाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले जानकारी दिए ।

यो प्रणालीले समुन्द्री क्षेत्रबाट ठूलो मात्रामा जलवाष्प बोकेर ल्याएकोले नेपालको विशेषगरी कोशी र मधेश प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको उनले बताए ।

‘बंगालको खाडीमा ‘मोन्था’ नाम गरेको सामुन्द्रिक चक्रवात विकास भएको छ । त्यो चाहीँ विस्तारै भारतको भूभागमा प्रवेश गरेको छ । विशाखपटनम क्षेत्रमा आजको दिनमा अवस्थित छ र यो अबको दुई दिनमा नेपाल प्रवेश गर्ने देखिन्छ,’ पराजुलीले भने ।

यसको प्रभाव बागमती प्रदेश र कोशी प्रदेशका हिमाली क्षेत्रमा पनि फैलिनसक्ने सम्भावना रहेको उनको भनाइ छ । उक्त चक्रवातको प्रभाव बिहीबार (कात्तिक १३ गते दिउँसोदेखि १५ गते शनिबर दिउँसो) सम्म रहने पूर्वानुमान छ । उक्त अवधिमा हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको पनि उनले जानकारी दिए ।

बिहीबारबाट भने फेरि चक्रवात ‘मोन्था’ सक्रिय हुने भएकोले नेपालको मौसम प्रभावित हुने मौसम विभागले जनाएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलवार १६:५३   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।