बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’का कारण यही कात्तिक १२ गते रातिबाट सक्रिय भएको वर्षा पार्ने प्रणाली नेपालको पूर्वकेन्द्रित भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको असरका कारण कोशी र मधेस प्रदेशका धेरै जिल्लामा प्रभाव पारिरहेको छभने बागमती र गण्डकी प्रदेशका केही जिल्लामा असर गरेको छ ।
आज राति कोशी केन्द्रित भएर वर्षा हुने जनाउँदै विभागका सूचना अधिकारी दिनकर कायस्थले रातिबाट क्रमशः सुधार हुँदै जाने पनि बताए । काठमाडौँ उपत्यकालगायत मध्यक्षेत्रमा वर्षा घट्दो क्रममा रहेको पनि विभागले जनाएको छ ।
विभागकाअनुसार हाल मोन्था चक्रवात भारतको छत्तिसगढ आसपासमा न्यून चापीय क्षेत्रका रूपमा रही नेपालको मौसम प्रभावित भइरहेकामा आज रातिबाट सो प्रभाव कम भई क्रमिक रूपमा मौसममा सुधार हुनेछ ।
साथै नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । उनले अहिले कोशी प्रदेशमा पूर्ण बदली र बाँकी भूभागमा साधारणतयादेखि अधिकांश बदली रहेको जानकारी दिए ।
अहिले कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।
आज राति कोशी र मधेस प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले आज साँझ जारी गरेको बुलेटिनमा उल्लेख छ ।
ती क्षेत्रहरूमा दैनिक जनजीवन, पर्वतारोहणलगायत कृषि तथा पर्यटन, सडक तथा हवाई यातायातका क्षेत्रमा समेत असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन विभागले सबैमा अनुरोध गरेको छ ।




















प्रतिक्रिया