काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको रोशी- ८ चारसयबेशी र रोशी-११ पिप्लेमा डाइभर्सन निर्माण पश्चात बिपी राजमार्ग संचालनमा आएको छ ।
बिहीबारदेखि परेको अविरल वर्षाले विभिन्न स्थानमा गएको पहिरो र लेदोको कारण तीन दिनदेखि अवरुद्ध राजमार्ग संचालनमा आएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।
रोशी-११ पिप्लेमा र रोशी-८ चारसयबेशीमा डाइभर्सन निर्माणपश्चात आज १२ बजेदेखि बिपी राजमार्ग सञ्चालनमा आएको हो ।
लगातारको वर्षाका कारण बिपी राजमार्ग अन्तरगतको चौकीडाँडा, चारसयबेसीको नाङसाल क्रसर, बोक्सीकुना र माम्तीमा पहिरो खसेर तथा नार्के, पिन्थलीबेशी, विरुवाडाँडा, डालाबेशी लगायतको स्थानमा लेदोको कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो ।
डाइभर्सन निर्माण भए पनि रोशी खोलाको किनारा र माथिबाट आउने सुक्खा पहिरोको कारण सावधानी अपनाएर यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ ।




















प्रतिक्रिया