काठमाण्डौ । हाइड्रोपावर कम्पनीहरुको मुनाफामा उल्लेख्य सुधार देखिएको छ । चालु आवको पहिलो त्रैमाससम्ममा हाइड्रोपावर कम्पनीहरुले ५ अर्ब ६ करोड ५२ लाख रुपैयाँ नाफा कमाएका छन् ।
यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ९२.९२ प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमाससम्म हाइड्रो कम्पनीहरुले २ अर्ब ६२ करोड ५५ लाख रुपैयाँ नाफा कमाएका थिए ।
हाइड्रो कम्पनीहरुको विद्युत बिक्री आम्दानीमा उल्लेख्य सुधार देखिदा नाफा बढ्न टेवा पुगेको हो । नेप्सेमा ९७ वटा हाइड्रो कम्पनी सूचीकृत छन्, तीमध्ये अझैपनि ५ कम्पनीले पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छैनन् ।
वित्तीय विवरण प्रकाशित गरेका ९२ हाइड्रो कम्पनीमध्ये ७९ वटा कम्पनी नाफामा देखिएका छन् भने १३ कम्पनी अझैपनि घाटामा देखिएका छन् । गत आवको सोही अवधिसम्म भने १७ कम्पनी घाटामा रहेका थिए ।
पहिलो त्रैमाससम्म सबैभन्दा बढी नाफा कमाउने कम्पनीमा अप्पर तामाकोशी हाइड्रोपावर रहेको छ । सो कम्पनीले १ अर्ब ६७ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा १६४.९९ प्रतिशत बढी हो ।
त्यस्तै, दोस्रो बढी नाफा कमाउनेमा साहज उर्जा रहेको छ । यो कम्पनीले ४९ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा २३.६६ प्रतिशत बढी हो ।
साथै माउन्टेन इनर्जीले ४२ करोड ३४ लाख, ग्रीन भेन्चर्स लिमिटेडले ३० करोड २८ लाख, राधी विद्युत कम्पनीले २७ करोड ८५ लाख, अपि पावरले २६ करोड २७ लाख, सानिमा मिडिल तमोरले २१ करोड, चिलिमेले २० करोड ५८ लाख, सानिमा माई हाइड्रोले १६ करोड ४७ लाख, सान्जेनले १५ करोड ३८ लाख, बलेफीले १२ करोड ४४ लाख, अप्पर सोलु हाइड्रोले ११ करोड ६४ लाख रुपैयाँ र सिंगटी हाइड्रोपावरले ११ करोड २२ लाख रुपैयाँ नाफा कमाएको छ ।
नाफामा उक्लिएका अधिकांश कम्पनीहरुको नाफा गत आवको तुलनामा बढेको देखिएको छ । सबैभन्दा बढी नाफा ग्रोथ गर्ने कम्पनीमा हिम स्टार उर्जा कम्पनी रहेको छ । यो कम्पनीको नाफा १८०३.४५ प्रतिशतले बढेको छ ।
८ मंसिर २०८२, सोमबार २०:२७



















प्रतिक्रिया