नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले “काठमाडौँ महोत्सव २०८२” आगामी माघ १४ देखि १७ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा आयोजना गर्ने भएको छ। संघका अध्यक्ष दिनेश श्रेष्ठद्वारा जारी विज्ञप्तिमा महोत्सवलाई भव्य, व्यवस्थित र आकर्षक ढंगले सम्पन्न गर्न तयारी तीव्र भइरहेको उल्लेख छ।
महोत्सवमार्फत काठमाडौँ उपत्यकाको आर्थिक, सांस्कृतिक र पर्यटन पहिचानलाई थप मजबुत बनाउने, स्थानीय उत्पादन तथा नवप्रवर्तनलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने तथा उद्यमशीलता र स्टार्टअपलाई आवश्यक अवसर र दृश्यता प्रदान गर्ने उद्देश्य राखिएको छ।
करिब २०० अत्याधुनिक व्यवसायिक स्टल रहने महोत्सवमा स्थानीय उत्पादनका प्रदर्शनीसँगै रैथाने खानाको प्रतियोगिता, फुड–फेस्ट, कन्सर्ट, लाइभ म्युजिक, कला–संस्कृति प्रस्तुति, पर्यटन प्रवद्र्धन कार्यक्रम, फोटोग्राफी स्पट र स्वास्थ्य शिविरजस्ता गतिविधि समावेश हुनेछन्। आयोजकले १ लाखभन्दा बढी दर्शक उपस्थित हुने अपेक्षा गरेको छ।
महोत्सवले स्थानीय उत्पादनको बजार विस्तार, व्यापार तथा लगानी अवसर सिर्जना, व्यवसायिक नेटवर्किङ सुदृढीकरण, स्टार्टअप र नयाँ उद्यमीलाई प्रेरणा, रोजगारी प्रवर्द्धन तथा समग्र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने लक्ष्य लिएको संघले जनाएको छ।
व्यापारिक क्षेत्रमा कपडा तथा पहिरन, अटोमोबाइल, इलेक्ट्रोनिक्स र होम एप्लायन्स, हस्तकला, कृषि र मेसिनरी, फर्निचर, फूड एन्ड बेभरेज, सूचना प्रविधि, ट्राभल एन्ड टुर सेवा, रियल स्टेट, हर्बल तथा अर्गानिक उत्पादन, बैंक तथा वित्तीय संस्था लगायतका क्षेत्रका स्टलहरू रहनेछन्।




















प्रतिक्रिया