Logo

खेलकुद

एक्सट्रिम इनर्जी ड्रिंक्स आईसीसी मेन्स टी–२० विश्वकप क्रिकेटको प्रसारण टाइटल स्पोन्सर



काठमाडाैं । विश्व क्रिकेटको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता आईसीसी मेन्स टी–२० विश्वकप क्रिकेट यसपटक नेपाली दर्शकले कान्तिपुर म्याक्स टेलिभिजनमार्फत प्रत्यक्ष हेर्न पाउने भएका छन्।

प्रतियोगिताका सम्पूर्ण खेलहरू एक्सट्रिम इनर्जी ड्रिंक्सको प्रसारण टाइटल स्पोन्सरशिपमा प्रत्यक्ष प्रसारण हुने भएको हो। यस सहकार्यसँगै खेल, जोश र ऊर्जाको प्रतीक मानिने एक्सट्रिम इनर्जी ड्रिंक्स नेपाली क्रिकेट प्रेमीहरूसँग अझ नजिकिएको छ।

यस सम्बन्धी प्रायोजन सम्झौता आज आयोजित एक विशेष कार्यक्रममा कान्तिपुर म्याक्स र एक्सट्रिम इनर्जी ड्रिंक्सबीच सम्पन्न भएको छ। सम्झौतामा कान्तिपुर म्याक्सका बिजनेस हेड सागर केसी र एक्सट्रिम इनर्जी ड्रिंक्सका सेल्स हेड पवनकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

नेपाली टेलिभिजन च्यानलमार्फत पहिलो पटक आईसीसी टी–२० विश्वकप क्रिकेट प्रत्यक्ष प्रसारण हुन लागेको हो। कान्तिपुर म्याक्सले विश्वकपका सबै ५५ खेल प्रत्यक्ष प्रसारण गर्ने जनाएको छ। खेलहरू कान्तिपुर म्याक्समा अंग्रेजी कमेन्ट्री र कान्तिपुर म्याक्स–२ मा नेपाली कमेन्ट्रीसहित प्रसारण हुनेछन्।

विश्वकपका खेल हुने दिनहरूमा एक्सट्रिम इनर्जी ड्रिंक्सको सहकार्यमा प्रि–म्याच तथा पोस्ट–म्याच विशेष कार्यक्रमहरू पनि सञ्चालन गरिनेछ। यी कार्यक्रमहरूमा क्रिकेट विज्ञहरूसँग खेलको गहिरो विश्लेषण, समीक्षा तथा छलफल प्रस्तुत गरिनेछ, जसले दर्शकलाई खेलको रोमाञ्च अझ नजिकबाट अनुभूति गराउने अपेक्षा गरिएको छ।

यसै अवसरमा एक्सट्रिम इनर्जी ड्रिंक्सले विभिन्न सामाजिक सञ्जाल तथा उपभोक्ता केन्द्रित क्याम्पेनमार्फत ६० जना भाग्यशाली क्रिकेट प्रेमीलाई मुम्बईमा आयोजना हुने आईसीसी टी–२० विश्वकपका खेलहरू स्टेडियममै गएर प्रत्यक्ष अवलोकन गर्ने आकर्षक प्याकेज प्रदान गरेको छ।

खेलकुद र युवाको ऊर्जालाई निरन्तर साथ दिँदै आएको एक्सट्रिम इनर्जी ड्रिंक्सले विश्वकप प्रसारणमार्फत नेपाली क्रिकेट प्रेमीहरूसँग अझ बलियो सम्बन्ध स्थापित हुने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार ११:२७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।