Logo

खेलकुद

राष्ट्रिय जिम्न्याष्टिकमा आर्मी च्याम्पियन



भक्तपुरको जगातीस्थित लिवाली कभर्डहलमा शनिबार भएको प्रतियोगितामा आर्मी सर्वाधिक १००.५० अंक जोड्दै टिम च्याम्पियन बनेको हो। नेपाल जिम्न्याष्टिक संघको आयोजनामा भएको प्रतियोगितामा बागमती प्रदेश दोस्रो भयो। बागमतीले ९८.६० अंक बटुल्यो।

एपिएफ क्लबले ९२.३५ अंक जोड्दै तेस्रो भयो। आर्मीले महिलामा ५० अंक र पुरुषमा ५०.५० अंक प्राप्त गर्दै ट्रफी आफ्नो नाममा सुरक्षित गरेको हो।

बागमतीको महिला टोलीले भने तुलनात्मक रूपमा कमजोर प्रदर्शन गर्‍यो। पुरुषमा बागमती प्रदर्शन च्याम्पियन हुँदा महिलामा भने आर्मीले सफलता पाएको हो। महिलामा बागमतीको टोली तेस्रो स्थानमा खुम्चिन पुग्यो।

अलराउन्डतर्फ आर्मीका रोहन बुढाथोकी च्याम्पियन भए। उनले बागमतीका सुमित तमखुलाई पछि पारेका हुन्। रोशनले फ्लोरमा ७.०५ र भल्टमा ७.७ अंकसहित समग्रमा १४.७५ अंक बटुले।

सुमितले भने फ्लोरमा ६.५५ र भल्टमा ६.५ अंक पाए। यस विधामा आर्मीकै आर्या केसी तेस्रो भए। उनले कुल १३.२ अंक ल्याए। महिला अलराउन्डरमा एपिएफकी हर्षाली रञ्जित च्याम्पियन भइन्।

उनले आफ्नै विभागकी सुनिता दर्नाललाई पछि पारेकी हुन्। फ्लोर र भल्टमा गरेर समग्रमा हर्षालीले १३.२० र सुनिताले १२.९० अंक ल्याए। हर्षालीले फ्लोरमा सुनितालाई पछि पारेकी थिइन्। भल्टमा भने दुवैले समान ५.३५ अंक ल्याए।

अलराउन्डमा नै बागमती प्रदेशकी रेगिशा घेमोसु तेस्रो स्थानमा रहिन्। उनले फ्लोरमा ७.४० र भल्टमा ५.४० अंक जोडिन्। रेगिशाले भल्टको प्रतिस्पर्धामा हर्षाली र सुनितालाई पछि पारेकी थिइन्।

तर, त्यो प्रदर्शनले उनी शीर्ष दुईभित्र अटाउन सकिनन्। विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहता र नेपाल जिम्न्यास्टिक संघका उपाध्यक्ष राजकुमार कार्की लगायतले पुरस्कृत गरेका थिए।

यसै प्रतियोगिताबाट चीनमा सन् २०२६ को जुनमा हुने एसियाली आर्टिस्टिक जिमन्याष्टिक प्रतियोगितामा सहभागी हुने खेलाडीको छनोट गरिने आयोजक संघका उपाध्यक्ष राजकुमार कार्कीले जानकारी दिए।

संघका उपाध्यक्ष कार्कीले यो प्रतियोगितापछि नेपालको जिम्न्यास्टि खेलाडीलाई प्रोत्साहन मिल्ने आशा व्यक्त गरे। अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअगाडि यस किसिमको प्रतियोगिता महत्त्वपूर्ण हुने उनको विश्वास छ।

कार्कीले आगामी दिनमा जिम्न्यास्टिक खेलका गतिविधि बढाउँदै नेपाली खेलाडीलाई यस खेलमा लाग्न थप प्रोत्साहित गर्ने बताएका छन्। यस प्रतियोगितामा सातै प्रदेश, नेपाल प्रहरी, नेपाल आर्मी र एपीएफ क्लबका १ सय २० खेलाडीले पुरुष/महिलामा समान आठ गरी १६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित मिति : १८ माघ २०८२, आईतवार ०६:४०   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।