Logo

अनलाइनपाना खोज

सुनिल शर्माको उदय: दलालदेखि ‘डन’सम्म, अपहरण र विस्फोटमार्फत नोबेल मेडिकल कलेज कब्जा



काठमाडौँ। बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालिन उपकूलपति डा.शेखर कोइरालामार्फत एक पटक गिरिजाप्रसाद कोइरालासँग भेट्न सफल भएका सुनिल शर्माले नोबेल मेडिकल कलेजको ११ प्रतिशत ‘गोल्डेन’ शेयर पाउने सर्तमा सो कलेजको सम्वन्धन दिलाएर छाड्ने काम (विचौलिया)को जिम्मेवारी पाउँछन्।

२०५८ सालमा कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि शेरबहादुर देउवा प्रधानमन्त्री भए। देउवाको क्याविनेटका शिक्षा मन्त्री आमोद प्रसाद उपाध्यायसँग सुनिलले भेट गर्छन्।

गिरिजाप्रादका विश्वास पात्र र उच्च शैक्षिक, राजनीतिक र कुटनीतिक ज्ञान भएका आमोदले सुनिल जस्ता हैसियत नभएका युवाले भने बमोजिमको काम सरासर हुने सम्भावना नै थिएन। देउवा सरकारको क्याविनेट मन्त्री भए पनि आमोद प्रसाद उपाध्यायको हैसियत र योग्यता सम्भवत तत्कालिन प्रतिनिधिसभामा उच्चकोटीको थियो। शिक्षा मन्त्री आमोदबाट काम लिन सुनिलले सहज ठानेनन् र आमोद पुत्र चिकित्सक संजिब उपाध्यायमार्फत काम अघि बढाए। त्यो बापत आमोद पुत्र डा.संजिवलाई पनि केही शेयर नोबेलका संचालकले दिनु पर्ने भयो।
२०५८ मा शिक्षा मन्त्री आमोदले पुत्र डा.संजिवमार्फत आएको सिफारिस बमोजिम धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालयलबाट नोबेल मेडिकल कलेजले चिकित्शा शास्त्र अध्ययनको अनुमति पायो। केयुले सम्वन्धन दिएपछि सुनिलले नवराज पाण्डेसँग मिलेर कम्पनिको निर्देशक पद हत्याउन सफल भए।

पाण्डेले आफूलाई वाईपास गरेर शर्मासँग मिलेमतो गरी कम्पनी कब्जा गर्न खोजेको आशंका गिरीले गरे। उनले फेरि पाण्डे र शर्माविरुद्ध कम्पनि रजिष्ट्रारको कार्यालयमा मुद्धा हाले।
त्यसवेला सात संसदबादी दल र शसस्त्र हिंसामा उत्रिएको माओबादीले जनआन्दोलन –२ सफल भएर सात दल र माओबादीको सरकार (२०६३) मा चलिरहेको थियो। माओबादी शान्ति प्रक्रियामा आए पनि उसको हिंसात्मक र जबर्जस्त गर्ने कार्यशैलीमा परिवर्तन आएको थिएन। सुनिल शर्मा त्यस वेला बिराटनगरको मात्र नभएर काठमाडौंको समेत शेर थिए।

माओबादी नेता वर्षमान पुनसँग उनको व्यक्तिगत मात्र होइन, व्यवसायिक र व्यक्तिगत सम्वन्ध समेत थियो। सुनिललाई कम्पनि रजिष्ट्रारको कार्यालयले एक पैशा लगानी नगरी नोबेलको ११ प्रतिशत शेयर हात पारेको भन्दै ६० दिन भित्र शेयर फिर्ता दिन निर्देशन दियो।

कम्पनी रजिष्ट्रारको कार्यालयको निर्देशन पालना गर्ने भन्दै शर्माले शेयर फिर्ताको कागज गर्न भनी नोबेल मेडिकल कलेजका अध्यक्ष डा.गिरि, निर्देशक पाण्डे र आदित्य खनाल, उमेश पाण्डे र जग्गु रिजाललाई २०६४ मंसिर १८ गते काठमाडौंमा बोलाउँछन्।
सुनिल शर्माले शेयर फिर्ता दिने भए भन्दै विराटनगर विमानस्थलबाट बुद्ध एयरको जहाजमार्फत एउटै उडानमा नोबेलका संचालकहरु काठमाडौं आउँछन्।

यता सुनिल शर्मा पनि आफू तपाईँहरुलाई शेयर फिर्ता दिनको लागि तयार भएर बसेको भन्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा प्रतिक्षा गरिरहेका हुन्छन्। आफ्नो पार्टी शान्ति प्रक्रियामा आएर सत्तामा गएको र आफ्ना साथि भाई नै मन्त्री र वाइसीएल (योङ कम्युनिष्ट लिग)का नेता भएको अवस्थामा आफूले पाएको शेयर फिर्ता गर्नु पर्ने अवस्थालाई इन्कार गर्न सुनिलले साम, दाम, दण्ड र भेदको नीति अख्तियार गरेर बसेका थिए।

शर्माले आफ्ना विश्वासिला नेता वर्षामान पुनसँगको सल्लाहमा तत्कालिन वाईसीएल अध्यक्ष गणेशमान पुनसँग भेट गर्छन। केही सामन्तले आफ्नो शेयर फिर्ता लिन जबर्जस्ति गरेकाले कारबाहीको लागि सहयोग गर्न अनुरोध गर्छन।गणेशमान पुनले पनि वाईसीएलको काठमाडौं उपत्यका इन्चार्ज सागर थापालाई सुनल कमरेडलाई सहयोग गर्न भनी निर्देशन दिन्छन्। सोही निर्देशनपछि शर्मा र थापाको मिलेमतोमा नोबेलका सबै संचालकलाई एउटा सवारीमा हालेर अपहरण गरियो।

सागर थापाले वाईसीएलका कार्यकर्ता लगाएर उनीहरुलाई उपत्यकाको कुनै एकान्तस्थानमा लगेर शेयर वाँडफाँटसम्वन्धी सबै कागजात कब्जामा लिए। ११ प्रतिशत शेयर फिर्ता पाईने आशामा काठमाडौं आएका नोबेलका संचालक उल्टै ८९ प्रतिशत आफ्नो सबै शेयर उनै शर्मालाई छाड्ने कागजमा सही छाप गर्न बाध्य भए।

नोबेलका संचालकहरुले आफ्नो भए भरको नोबेलको शेयर सम्पति मात्रै गुमाएनन् कि आफूसँग साथमा रहेको सबै नगद पनि वाईसीएललाई बुझाउनु पर्यो।

अपहरणमा परेका उनीहरुले सम्पति मात्रै गुमाएनन् कि तत्कालिन नेकपा माओबादी शान्ति प्रकृयामा आउपछि काभ्रेको कामी डाँडामा रहेको माओबादी लडाकुको अस्थायी शिविरमा लगातार तीन दिनसम्म शारिरिक यातना समेत भोग्नु पर्यो।

कामीडाँडाबाट आँखामा पट्टी बानेर काठमाडौंमा ल्याएर छाडिएका नोबेलका संचालकहरुले आफूलाई विराटनगरका सुनिल शर्माले अपहरण गरी माओबादी लडाकु शिविर पुर्याएर कम्पनीको शेयर छाड्ने कागजमा जबर्जस्ति सही गराएको, साथमा भएको रकम लुटिएको र शारिरीक र मानसिक यातना पाएको भन्दै अपहरण काण्डमा उजुरी दिए। प्रहरीमा उजुरी परेको विषय आमसंचार माध्यममा सार्वजनिक भयो।

तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले आईजीपी ओमविक्रम राणालाई शान्ति प्रकृयालाई खलल पुर्याउन अपहरण र शरिर बन्धक कार्यमा संलग्न जो कोहीलाई पनि कानुनी दायरमा ल्याउन निर्देशन दिए।
माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र डा.बाबुराम भट्टराईले अपरहरण गरेर ल्याइएका व्यक्तिहरुलाई माओबादी लडाकुको शिविर कामीडाँडामा राखेर यातना दिएको घटनाप्रति खेद र दुःख व्यक्त गरे।

कांग्रेसकै गृहमन्त्रीले साथ नदिएपछि शर्मा भूमिगत भए। प्रहरीले उनको धुईँपताल खोजी गर्यो । तर उनी काठमाडौंमा अस्थायी बसोबास गरेका मोरङका कांग्रेसीको घर र डेरामा लुकिछिपी बस्न थाले। प्रहरीले थाहा पाएपछि शर्मा भारत पलायन भए।
माओबादीका नेता र वाईसीएलका नेताको सल्लाहमा सुनिल अखिल नेपाल भारतीय प्रवासी संघका नेताको नजिक पुगे।

नोबेलको शेयर हात पार्न साम, दाम, दण्ड, भेदको नीति लिएका शर्मा भारतमा बसेर पनि हार खाएनन्। शर्माले नोबेलका निर्देशक नवराज पाण्डेलाई तर्साउन उनका भाई रमेश पाण्डेको अपहरण गर्न लगाए।

शर्मा यो अपहरण काण्डमा प्रत्यक्ष देखा परेनन्। उनले त्यसका लागि डिफेन्स आर्मी नामक संस्थाको आबरणमा रमेश पाण्डेलाई २८ दिनसम्म अपहरण गरी भारतमा राखे। शर्माले नोबेल मेडिकल कलेजको शेयर सबै आफ्नो नाममा बनाएका सबै कागजात आएपछि मात्र अपहरणबाट मुक्त गर्ने सर्त राखेपछि सर्त स्वीकार गरेसँगै रमेश पाण्डे अपहरणबाट मुक्त हुन सफल भए।

नोबेलका संचालकहरुले आफूविरुद्ध फेरि प्रहरी र अदालतमा उजुरी गर्ने थाहा पाएपछि शर्माले डिफेन्स आर्मीका कमाण्डर आरपी मैनालीलाई केही आर्थिक सहयोग प्रदान गरी नोबेलका संचालकको घर र कार्यालयमा विष्फोट गर्न दिर्नेशन दिन्छन्।
शर्माकै निर्देशन र मिलेमतोमा नोबेलका संचालकहरुको घर र कार्यालयमा सुतली बम विष्फोट हुन्छ। प्रहरी महानिरिक्षक ओमबिक्रम राणाको कडा निर्देशनपछि उपत्यका अपराध अनुसन्धान महाशाखाले डिफेन्स आर्मीका सुप्रिम कमाण्डर भनीने आरपी मैनालीले नेतृत्वको समूहले विष्फोट गरेको पत्ता लगाउँछ।
प्रहरीले मैनालीसहित बम विष्फोटमा संलग्न डिफेन्स आर्मीका उपकमाण्डर भनिने त्रिभुवन यादव, सुनिल शर्माका सहयोगी मोरङका काशी चुडाल र राजेश चौधरी पक्राउ परे।

चुडाल र चौधरीभन्दा पहिले नै पक्राउ परेका आरपी मैनालीले सुनिल शर्माको काम फत्ते गरेबापत आफूले पहिलेकै रकम नपाएको अडियो टेप वार्ता सार्वजनिक भयो। प्रहरीले शर्मालाई खोजी गरिरहेको बेला उनैले आफ्ना सहयोगी चुडाल र चौधरीलाई पक्राउन सहयोग गरेका थिए।

यसरी संचालकहरुबीच अपहरण, यातना, लुटपाट र विष्फोटका घटनाले बिराटनगरको कन्चनवारीस्थित भर्खर संचालन भएको नोबेल मेडिकल कलेजमा उपचार गर्न विरामीहरु आउन छाडे। विद्यार्थीहरुको बिचल्ली भयो भने डाक्टरले तलव पाउन छाडेपछि नोबेल मेडिकल कलेज बेबारिसे बन्न पुग्यो।

लेटाङ–बेलबारीका ति राजेन्द्र कसरी भए डाक्टर सुनिल शर्मा ?

प्रकाशित मिति : २५ माघ २०८२, आईतवार ०९:१०   :  बजे

20.2K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।